बाढीले रौतहटमा एक जनालाईे बगायो

समाचार

7/21/2020

रौतहट, ६ साउन । रौतहटको उत्तरीभेग चन्द्रपुरमा एक जनालाई बाढीले बगाएको छ । चाँदी नदीमा पौडी खेल्न गएका चन्द्रपुर नगरपालिका ३ का ५० वर्षीय शुकमानी थिङलाई मंगलबार बिहान ११ बजे बगाएको प्रहरीले जनाएको छ ।

पछिल्लो तीन दिनदेखिको अविरल वर्षाको कारण जिल्लाको पूर्वीभेग बागमती पश्चिम लालबकैया नदीका साथै सबै खोलाहरुमा पानीको स्तर बढ्दै गएको छ ।

लालबकैया नदीको पानी ईशनाथ नगरपालिका १ बनजरहामा पसेको छ । ईलाका प्रहरी कार्यालय बनजरहा अगाडि र गाउँमा तीन फिटसम्म पानी जमेको र पानी बढ्नेक्रम जारी छ ।

त्यसैगरी तरहारी खोलामा आएको बाढीले कटहरिया नगरपालिका ९ डुमरिया गाउँ छेउ मुसहरी टोल रातिदेखि डुबानमा परेको छ । मुसहरी टोलका ३५ परिवार आफन्तको घरमा बसिरहेको ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहले बताए ।

त्यसैगरी झाँझ खोलाको बाढीले गरुडा छेउको एउटा वडा २० घर डुबानमा परेको छ । बागमती नदीको बाढीले राजदेबी नगरपालिका बसतपुर छेउमा र पिपरा रजवाडा नजिक कटान सुरु गरेको छ ।

त्यसैगरी लालबकैया नदीको बाढीले बौधिमाई नपा ३ र ४ वडामा तटबन्ध कटान गरिरहेको प्रहरीले जनाएको छ । कटान भइरहेका सबै स्थानमा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मर्मत भैरहेको छ ।

वर्षाको कारण जिल्लाको १८ वटै स्थानीय तहको सडकहरुमा पानी जमेको छ भने अधिकांश धानखेती डुबानमा परेको छ । आइतबार देखि सुरुभएको अविरल वर्षा अझै तीनदिन हुने र सबै नदी खोलामा बाढी आउन सक्ने भएकाले सचेत रहन स्थनीय प्रशासनले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ