काठमाडौं, १२ असार । भारतले बाढी र डुबान समस्या समाधान सम्बन्धमा नेपालसँग समन्वय भइरहेको बताएको छ । भारतका विदेश मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले बाढी र डुबान समस्या सम्बोधनका लागि दुई देशबीच रहेको संयन्त्रले काम गरिरहेको बताएका हुन् ।
नेपालका नदीहरुमा आउने बाढीका कारण बिहारलगायतका सिमावर्ती राज्यहरुमा हुने डुबानका विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा जवाफ दिँदै प्रवक्ता श्रीवास्तवले भने,‘भारत र नेपालबीच बाढी नियन्त्रणको कामका लागि दुई पक्षीय संयन्त्र छन् । सीमामा रहेका नदीहरुमा बाढी नियन्त्रण र भूक्षय रोक्ने काम सुरु भइसकेको छ ।’ साथै यो वर्षको मनसुनमा हुनसक्ने क्षति कम गर्न दुवै पक्षबीच समन्वय भइरहेको समेत उनले बताएका छन् ।
केही दिनअघि बिहारका जलसंशाधन मन्त्री सन्जय झाले नारायणी (गण्डक) नदीमा बनेको बाँधको सफाई र मर्मतको काममा नेपालले अवरोध गरेका आरोप लगाएका थिए । यसले बिहारमा बाढी र डुबानको जोखिम बढाएको समेत जनाएका थिए ।
तर, नेपालले भने मन्त्री झाको आरोपको खण्डन गर्दै कोभिड १९ को नियन्त्रण र रोकथामका लागि सीमा बन्द गरिएको र संक्रमणको जोखिम कम गर्न बाँधको मर्मत एवं सफाइका लागि आउने प्राविधिकहरुको सूची पठाएको खण्डमा अनुमति दिइने जनाएको थियो । त्यही प्रक्रिया पुरा गर्नका लागि समय लागेको हुँदा बाँधको काम रोकेको भन्ने मन्त्रीको आरोप सत्य नभएको जनाएको थियो ।
यस्तै नेपाली पुरुषसँग विवाह गर्ने विदेशीलाई सात वर्षपछि नागरिकता दिने प्रावधानप्रति भारतले घुमाउरो ढंगले आपत्ति जनाएको छ । प्रवक्ता श्रीवास्तवले यस विषयमा विभिन्न रिपोर्ट देखेको बताए ।
‘नेपाल र भारतका जनताबीच एकदम गहिरो र पारिवारिक सम्बन्ध छ’, उनले भने, ‘यो सम्बन्धले दुई देशबीच रहेको नजिकको सभ्यतागत र सांस्कृतिक सम्पर्क प्रतिविम्बित गर्छ ।’
‘व्यापार र सप्लाई बिनाअवरोध अगाडि बढिरहेका छन् । काँकडभिट्टा र पानीट्यांकी क्षेत्रमा पनि कुनै अवरोध छैन । दुई मुलुकको बीचमा ठूलो व्यापार छ’, प्रवक्ता श्रीवास्तवले भने, ‘लकडाउनको समयमा पनि दुई देशको व्यापार बढिरहेको छ । मे महिनामा मात्रै ३ सय मिलियन अमेरिकी डलरभन्दा बढीको व्यापार भयो ।’
उनले कोभिडको चुनौतीपूर्ण समयमा पनि नेपालसँगको व्यापार र अत्यावश्यक सामानको प्रवाहमा सहजीकरण गरिरहेको बताए ।
यस्तै भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीका सम्बन्धमा थप प्रतिक्रिया नदिने बताएको छ । उसले नेपालमा चीनको प्रभाव, नयाँ नक्सा, विदेश सचिवस्तरीय बैठकलगायतका विषयमा टिप्पणी नगर्ने पनि स्पष्ट गरेको छ ।
प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नयाँ नक्साबारे कुनै जानकारी नदिने बताउँदै नेपाल र भारतबीच आपूर्ति व्यवस्था निरन्तर रहेको उल्लेख गरे ।
‘भारतले आफ्नो धारणा १३ जुनमा सार्वजनिक गरिसकेको छ । यस सम्बन्धमा थप प्रतिक्रिया छैन,’ श्रीवास्तवले भने । नेपाल र भारतबीच अत्यावश्यक सामग्री तथा व्यापारका लागि आपूर्ति व्यवस्थामा अवरोध नआएको उनको भनाइ थियो ।
लकडाउनको चुनौतीमाझ पछिल्लो महिनामा मात्रै नेपाल र भारतबीच ३० करोड अमेरिकी डलरबराबरको व्यापार भएको श्रीवास्तवले जानकारी दिए ।
तपाईको प्रतिक्रिया