जनकपुरधाम, २० जेठ । जनकपुरधाममा सडिसकेको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार धेरै दिनदेखि बन्द जनकपुरधाम उपमहानगरपालिका ७ बसहिया स्थित एक घरमा शव फेला परेको हो ।
जिप्रका धनुषाका डीएसपी मकेन्द्र मिश्रले शव फेला परेको घर वैद्यनाथ झाको रहेको बताए। शव फेला परेको घरको बाहिरी मुलगेट र कोठाको ढोकामा समेत ताल्चा लागेको थियो ।
केही दिन बन्द रहेको घर भित्रबाट केही दुर्गन्ध फैलिएपछि स्थानीयलाई शंका लागेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली पुगेर घरको बाहिरी गेट र भित्र कोठाको समेत ताल्चा फुटाएपछि शव भेटिएको डिएसपी मिश्रले जनाए ।
घरभित्र सिरकमा बेरेर राखेको अवस्थामा फेला परेको शवको प्रायजसो भाग सडेर किराले खाइसकेको छ । अन्दाजी २६–२६ वर्षजस्तो देखिएको शव कुहिएको अवस्थामा रहेको हुँदा सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
लामो समयदेखि बाहिर र भित्र बन्द रहेको घर भित्र शव भेटिएको घटना रहस्यमय र शंकास्पद रहेको डिएसपी मिश्रले बताए । उनले कसैले हत्या गरेर शव लुकाएको हुन सक्ने आशंका व्यक्त गरे ।
तपाईको प्रतिक्रिया