बर्दिबास घटनाः पीडितलाई प्रदेश सरकारले राहत दियो

समाचार

12/3/2020

महोत्तरी, १८ मंसिर । महोत्तरीको बर्दिवासमा एक साताअघिको बालिका अपहरण र हत्या एवम् प्रदर्शनमा मारिएका परिवारलाई प्रदेश–२ सरकारले राहत घोषणा गरेको छ ।

बर्दिबासमा प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पीडित परिवारलाई राहत घोषणा गरे । मन्त्री यादवले पीडित परिवारजनलाई दोषीमाथि कडा कार्वाही हुने विश्वास पनि दिलाए ।

मंसिर ७ गते आइतबार साँझ अपहरणमा परी भोलिपल्ट मध्यरातमा बोरामा खाँदिएको अवस्थामा शव बरामद भएकी बर्दिबास–१४ शुभम् बस्तीका शहीद आलमकी छ वर्षीया छोरी गुलाव शाह गुलवशा खातुन र प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा मृत्यु भएका बर्दिबास–१ का बुद्धिराज (सञ्जय) न्यौपानेका परिवारलाई पाँच/पाँच लाख नगद प्रदान गरिने मन्त्री यादवले घोषणा गरे ।

मंसिर ९ गते मङ्गलबार बालिका अपहरण र हत्या गर्नेलाई कडा कार्वाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको काठमाडौँस्थित ग्रान्डी अस्पतालमा सोही रात उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रदेश सरकारले प्रदर्शनका क्रममा घाइते भएका बर्दिबास–५ का श्याम कार्की र बालिका गुलवशाका आफन्त आफताव आलमलाई एक÷एक लाख प्रदान गर्ने घोषणा गरेको छ । मन्त्री यादवले मृतक न्यौपानेका नाबालक छोराछोरीको पठनपाठन व्यवस्थाका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लग्ने प्रतिबद्धता पनि जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ