बर्दिबास, ११ मंसिर । महोत्तरीको बर्दिबासमा मृतक बालिका र गोली लागेर ज्यान गुमाएका दुवै घटनाका पीडित परिवारलाई बर्दिबास नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । पीडित परिवारलाई जनही २ लाख ५० हजारका दरले राहत उपलब्ध गराउने नगरपालिकाले निर्णय गरेको हो ।
बर्दिबास नगरपालिकाले पत्रकार सम्मेलन गरेर गोली लागेर मृत्यु भएका परिवारका एक जना सदस्यलाई क्षमताको आधारमा रोजगारीसमेत उपलब्ध गराउने बताएको छ । आइतबार साँझदेखि हराइरहेकी ६ वर्षीय बालिका गुलाब्सा खातुनको शव सोमबार मध्यराती फेला परेको थियो । बालिकाको हत्याको विरोधमा प्रदर्शनका उत्रिएका बर्दिबास– १ का ४२ वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर उपचारको क्रममा ज्यान गएको थियो ।
दुवै घटनालाई सत्यतथ्य एवम् निष्पक्ष छानविन गर्न न्यायिक आयोग गठन सरकारसँग माग गरिएको छ । बालिका हत्या र गोली लागेर मृत्यु भएका दुवै घटनामा दोषी ठहरिनेलाई हदैसम्मको कारवाहीको माग गरेको छ ।
तपाईको प्रतिक्रिया