महोत्तरी, २८ असार । महोत्तरीको बर्दिवासस्थित निर्माण हुने भनिएको बर्दिवास मेडिकल कलेजको निर्माण कार्य अझै सुरु हुन सकेको छैन ।
डिभिजन वन कार्यालय महोत्तरीले रुख काट्ने अनुमति नदिएपछि निर्माण काम रोकिएको बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख देवी प्रसाद सुवेदीले बताए । बर्दिबासको माइस्थान सामुदायिक वनको जग्गामा मेडिकल कलेज निर्माण गर्न जग्गा दिइएको हो ।
नेपाल सरकारले आर्थिक वर्ष २०७३÷७४ को बजेट वक्तव्यमा प्रदेश २ को बर्दिबास, प्रदेश ५ को रुपन्देहीको तिलोत्तमा र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कजेल स्थापना गर्ने उल्लेख गरेको थियो। तर निर्माण गर्ने निर्णय गरेको ४ वर्षसम्म पनि यसको निर्माण कार्य शुरु हुन नसकेको हो ।
२०७५ साल फागुन ३ गते मन्त्रिपरिषद्को बैठकको निर्णयबाट बर्दिबाससहित तीन वटै मेडिकल कजेलको निर्माणका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत भएको थियो । त्यसपश्चात २०७६ साल वैशाख १८ गते उपप्रधानमन्त्री ईश्वर पोखरेलले औपचारिक रुपमा आयोजनाको सुरुवात गरेका थिए ।
वन विनाश गरेर मेडिकल कलेज बनाउन नपाइने आवाज उठ्न थालेपछि यस मेडिकल कलेजको प्रारम्भिक कार्य नै अड्किएको आयोजना प्रमुख सुवेदीको भनाइ छ ।
सुरुमा १०१.४९ हेक्टरमा मेडिकल कलेज बनाउने योजना रहे पनि पछि बढी रुखको विनास हुने भन्दै त्यसलाई घटाएर ५४.५८४ हेक्टर जग्गामा सीमित गरिएको सुवेदीले बताए ।
उनका अनुसार प्रस्तावित जग्गा मध्ये ४९ हेक्टरमा संरचना निर्माण गर्ने तथा त्यसको लागि १ हजार ९ सय ६७ रुख काट्ने अनुमति मागिएको छ । अनुमति मागिएको रुखमध्ये बचाउन सकिने रुखलाई मेडिकल कलेज निर्माणको बेला बचाइने समेत उनले बताए ।
मेडिकल कलेज निर्माणको लागि ३० देखि ३५ अर्व खर्च लाग्ने अनुमान गरिएको छ । निर्माण हुन लागेको १ हजार शय्याको बर्दिवास मेडिकल कलेजको डिपिआर निर्माण भइसकेको र ईआईए रिपोर्ट समेत तयार भइसकेकाले चाँडै नै निर्माण प्रक्रिया सुरु हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया