बारा, ११ बैशाख । सशस्त्र प्रहरी बल नेपाल नम्वर १२ गणले बारा जिल्लाको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको जनाएको छ ।जिल्लामा रहेको सम्पूर्ण सशस्त्र प्रहरी जनशक्तिलाई कोभिड १९ नियन्त्रणको लागि सीमा तथा सोही बमोजिम आवश्यक क्षेत्रमा पारिचालन गरिएको गणपति, सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुबेदीले बताए ।
सीमा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय तहहरुसँग समन्वय गरी निगरानी समितिमार्फत कार्य अगाडि बढाइएको छ ।
सामान्य अवस्थामा रहने जनशक्तिभन्दा तीन गुणा बढी संख्यामा हाल सीमा क्षेत्रमा सशस्त्र प्रहरी पारिचालन गरिएको सुबेदीले बताए । सीमामा जम्मा ७ वटा बिओपीमार्फत कार्य गर्दै आएको सशस्त्र प्रहरी बल बाराले थप १७ वटा पोस्ट निर्माण गरी फौजको परिचालन तीव्र बनाएको छ । सुबेदीका अनुसार बाराको दसगजा क्षेत्रमा मात्र ९१ भन्दा बढी स्थानमा सशस्त्र प्रहरीको उपस्थिति छ ।
सशस्त्र प्रहरी बलले सवारी साधनबाट मोबाइल गस्ती, पैदल र साइकल गस्ती समेत गर्ने गरेको छ । सीमा जोडिएका जम्मा बीस वार्डमा सीमा समन्वय तथा निगरानी समिति गठन गरिएकाले सो समितिमार्फत नयाँ व्यक्ति सीमानाकामा देखिएको खण्डमा खबर आउने गरेको सुवेदीले बताए ।
तपाईको प्रतिक्रिया