सर्लाही, १८ माघ । आफ्नो माग पूरा नगरेको भन्दै विद्यार्थीहरुले बरहथवा नगरपालिका कार्यालय तोडफोड गरेका छन् ।
बरहथवा–५ मा रहेको चक्र जनता सहिद गंगा माध्यमिक विद्यालयका विद्यार्थीहरुले नगरपालिका कार्यालय तोडफोड गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक र विद्यार्थीबीच भएको विवादका कारण नगरपालिका कार्यालयमा तोडफोड भएको नगरपालिका कार्यलयले जनाएको छ । तोडफोडको क्रममा केही विद्यार्थीसमेत घाइते भएका छन् ।
नाराबाजी गर्दै नगरपालिका कार्यालय परिसर पुगेका विद्यार्थीहरुले नगरपालिकाको दराज, गमला, होर्डिङ बोर्ड, झ्यालको सिसामा क्षति पुगेको छ । विद्यार्थीले गरेको ढुंगामुडाबाट नगरपालिकाका प्रशासन शाखा प्रमुख कमलप्रसाद पौडेलले चड्ने गरेको बा २० च ९३३७ नम्बरको कारको सिसा फुटेको छ ।
प्रत्येक वर्ष विद्यालय र नगरपालिकाले शैक्षिक भ्रमणका लागि रकम छुट्याउने गरेको तर यस वर्ष रकम छैन भनेर प्रधानाध्यापकले बाहिरको मान्छे लगाएर आफूहरुलाई कुटाउने धम्की दिइरहेको विद्यार्थीहरुको आरोप छ ।
विद्यार्थीहरुले लेखा शाखा र प्रधानध्यापकको कार्यकक्षमा तोडफोड गरेका छन् । तोडफोडबाट कागजात, दुईवटा कम्प्युटर, कुर्सीलगायतका अन्य सामान तोडफोड गरेका विद्यालयले जनाएको छ ।
विद्यालयमा नियमित पठनपाठन नभएको, अतिरिक्त क्रियाकलापअन्तर्गत भ्रमण खर्च नदिएको र विद्यालयमा भौतिक संरचना व्यवस्थित नहँुदा पठनपाठनमा समस्या भएको भन्दै विद्यार्थीले विद्यालय प्रशासन र नगरपालिकामा समेत ज्ञापनपत्र बुझाएका थिए। पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि माग सम्बोधन नभएको विद्यार्थीहरुको भनाइ छ ।
शैक्षिक सत्र सुरु भएको यतिका समयसम्म पनि विद्यालयले पुस्तक उपलब्ध नगराएको, विद्यालयमा नियमित पठनपाठन समेत नहुने गरेको, विद्यालयमा शिक्षकले राजनीति गरेको विद्यार्थीहरुको आरोप छ ।
यता बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले शैक्षिक भ्रमणका लागि विद्यार्थीबाट आर्थिक सहयोगको माग नआएको बताए ।
तपाईको प्रतिक्रिया