बारा, २६ कार्तिक । आर्थिक वर्ष २०७६/७७ मा स्थानीय पूर्वाधार विकास साझेदारी अन्तर्गत बारा–३ मा २८ वटा योजना छनौट गरिएकोमा २० वटा सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिका– १० मटिअर्वामा प्रवेशद्वार बनाउन १६ लाख, कलैया–६ र ७ मा विपन्न वर्गको २ वटा घर बनाउन ११ लाख, कलैया–८ र १२ मा सिँचाइ र विद्युतिकरणका लागि छुट्याइएको २० लाख, कलैया–६ स्थित कलैया अस्पतालको प्रसुति गृह, महिला तथा बालबालिकाका लागि आईसीयूसहितको भेन्टिलेटर जडान गर्न १० लाख, डायलायसिस सेवाका लागि १० लाख, कलैया–३ मा खेलकुदका लागि छुट्याइएको ११ लाख ४० हजार, कलैया– ११, १४ र २० स्थित शिवराधिका प्रावि भोडहा, नेपाल राष्ट्रिय प्रावि भवरा र नेपाल राष्ट्रिय प्रावि बसतपुरमा भौतिक पूर्वाधारका लागि ५० लाखको छुट्याइएकोमा कलैया–११ र २० मा काम हुन नसकेको हो ।
एम्बुलेन्स खरिद, विद्यालयको भौतिक पूर्वाधार, तेली कल्याण समाजको भवन, सामुदायिक भवन निर्माण, मठ मन्दिर तथा मस्जिद निर्माण तथा सौन्दर्यीकरण, सडक ढलान, सिँचाइ तथा नदी नियन्त्रण लगायतका २० वटा योजना भने सम्पन्न भएका छन् । यी आयोजनाहरुमा १० लाखदेखि १ करोडसम्म बजेट विनियोजना गरिएको थियो ।
आर्थिक वर्ष २०७५÷७६ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत बारा–३ मा १० देखि ५० लाख रुपैयाँसम्मका कलैया–५ बरेवास्थित रामराजा मोहन बिक्रम शाह क्याम्पस भवन निर्माण, ३ वटा धर्मशाला निर्माण, कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिका १२ र १३ मा शौचालय निर्माणलगायतका २० वटा योजना सम्पन्न भएका थिए ।
कार्यक्रम कार्यान्वयनमा सांसदको भूमिका कमजोर बनाइएकोले पनि यस्तो समस्या आएको स्थानीय जनप्रतिनिधिहरुको तर्क छ । सांसदलाई योजना छनौट गर्नमा मात्रै सीमित गरेका कारण योजनाको प्रभावकारी कार्यान्वयन गराउन समस्या भएको उनीहरुको गुनासो छ ।
कलैयामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तथा संसदीय विकास कोष कार्यक्रमका विषयमा सरोकारवालालाई जानकारी गराइएको थियो । त्यस क्रममा उनीहरुले कार्यक्रम कार्यान्वयनको ढाँचा निर्वाचन जितेपछि जनतासँगको दुरी बढाउने खालको रहेको बताए ।
तपाईको प्रतिक्रिया