बारा, ३ साउन । नेपाली कांग्रेसको आसन्न महाधिवेसन लक्षित क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्य थप्ने विषयमा संस्थापन र इतर पक्षबीच विवाद चर्किएको छ ।
संस्थापन पक्षले जिल्लाका ३ वटा संघीय र ६ वटा प्रदेश निर्वाचन क्षेत्रका ३ सय पुराना क्रियाशील सदस्यलाई नवीकरण नगरेको र १५ सय बढी नयाँ सदस्य बिनानिर्णय थपेको भन्दै संस्थापनईतर पक्षले सानेपास्थित केन्द्रीय कार्यालयमा सातादेखि धर्नामा बसेका छन् । झन्डै ४० जनाले सातादेखि शनिबार साँझसम्म २४ औं घण्टा धर्नामा बसेका हुन् ।
संस्थापन पक्षले नवीरकण नगरिएकामध्ये केहीले गत संघीय, प्रदेश र स्थानीय चुनावमा पार्टी अनुशासनविपरीत कार्य गरेको र विपक्षीलाई सहयोग पु¥याएकोले नवीकरणमा समस्या भएको बताएपछि विवाद उत्कर्षमा पुगेको हो ।
विवाद उत्कर्षमा पुगेपछि पार्टी केन्द्रीय समितिद्वारा गठित क्रियाशील सदस्यता छानबिन समितिले त्रुटि सच्याउने आश्वासन दिएको धर्नामा रहेका पूर्वसांसद रामअयोध्या यादवले बताए ।
संस्थापन पक्षले संविधानसभा सदस्य लालबाबु सिंह, तत्कालीन जिविसका पूर्वसभापति राजेन्द्र यादव, निजगढ नगरपालिका प्रमुख सुरेश खनाल, शिक्षक संघका पूर्वअध्यक्ष रामविलास यादव, पार्टीका जिल्ला सदस्य प्रमोद यादवलगायतका ३ सय जनाको सदस्यता नवीकरण नियतवश नगरेको शनिबार धर्ना स्थलबाट नेविसंघका पूर्वसहमहामन्त्री राजेश रौनियारले बताए ।
यीबाहेक जिल्लाका पार्टी सचिव मनोज भट्ट, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, पूर्वसांसद रामअयोध्या यादव, नेविसंघका पूर्वसहमहामन्त्री राजेश रौनियारलगायत पनि धर्नामा बसेका हुन् ।
महाधिवेशन भदौमा भए पनि स्थानीयस्तरमा वडा अधिवेशन आउँदो साउन १२ बाट सुरु हुँदैछ ।
तपाईको प्रतिक्रिया