वीरगन्ज, १९ भाद्र । बारा र पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २६ जना पर्सा र १९ जना बाराका हुन् ।
१० जनामा कन्ट्याक्ट ट्रेसिङका क्रममा कोरोना संक्रमण देखिएको हो । नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार १० महिलासहित १८ देखि ४५ वर्ष उमेरसमूहका ४५ जनामा कोरोना पुष्टि भएको हो । वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा १९ जना संक्रमित थपिएका छन् ।
वीरगन्जको आदर्शनगरमा रहेको नबिल बैंकका ५ जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ । पर्साको कालिकामाई गाउँपालिकाको वडा नं १ मा दुई र वडा नं ३ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सखुवाप्रसौनी गाउँपालिका–४ मा दुई र वडा ५ मा एक जनामा कोरोना देखिएको छ । पटेर्वासुगौली गाउँपालिकाको निचुटा स्वास्थ्य चौकीका एक कर्मचारी पनि संक्रमित भएका छन् ।
बाराको निजगढ नगरपालिकाको विभिन्न वडामा १४ जना संक्रमित थपिएका छन् । इलाका प्रहरी कार्यालय निजगढका ६ जना थुनुवामा कोरोना पुष्टि भएको छ । निजगढमै रहेको कामना विकास बैंकका एक कर्मचारीमा पनि कोरोना देखिएको छ । सशस्त्र प्रहरी बल पिलुवाका दुई सुरक्षाकर्मीमा संक्रमण देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक कलैयाका ३ जनामा कोरोना पुष्टि भएको छ ।
तपाईको प्रतिक्रिया