काठमाडौं, ९ मंसिर । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । गोली लागेर तीन जना घाइते भएका छन् ।
गम्भीर घाइते संयज भन्ने बुद्धिबहादुर न्यौपानेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
बर्दिबास नगरपालिका–१ का न्यौपानेको तिघ्रामामा गज्ञोली लागेको थियो । अर्का घाइते श्याम कार्की र आफताब आलमको अहिले बर्दिबास स्थित अस्पतालमा उपचार भैरहेको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारीको ढुंगा प्रहारबाट भने डीएसपी प्रकाश विष्ट घाइते भएका छन् ।
आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरेको र हत्या आरोपीको घरमा आगजनी गरेको प्रदेश २ प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईंले जानकारी दिए ।
बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुन आइतबार साँझदेखि हराएकी थिइन् । उनी सोमबार मृत फेला परेकी थिइन् ।
यसैबीच बर्दिबासमा हत्या भएकी बालिकाको शवलाई पोस्टमार्टमका लागि जनकपुर लगिएको छ । बलात्कारपछि हत्या भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको हो ।
मंगलबार स्थानीयले शव भेटेको ठाउँबाट उठाएर बर्दिबासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर दिनभर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो भने पछि आफन्तको सहमति बिनै बालिकाको शव उठाएर पोस्टमार्टमका लागि जनकपुर लगेको हो ।
तपाईको प्रतिक्रिया