बलात्कार घटनालाई ढाकछोक गर्न खोजेको भन्दै सांसद तेजुलाल चौधरीको ध्यानाकर्षण

समाचार

10/7/2020

काठमाडौं, २२ असोज । सप्तरी जिल्लाको खडक नगरपालिका ११ लालपुर टोलमा स्थानीय दुई किशोरीलाई गाउँकै तीन युवाहरुद्वारा बलत्कारको प्रयास भएको तथा उक्त घटनालाई कुटपिटको रङ दिई स्थानीय रुपमै ढाकछोप गर्न खोजिएको घटनाप्रति त्यस क्षेत्रका सांसद तेजुलाल चौधरीको ध्यानाकर्षण भएको छ ।

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य चौधरीले एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘तराई मधेशका महिलाहरुले मनाउने विशेष पर्व जितियाको पहिलो दिन भदौ २५ गते बेलुका शौच कार्यका लागि गाउँ नजिकैको बाँस भयाङमा गएका बखत उनीहरु माथी स्थानीय तीन युवाहरुद्वारा बलात्कारको प्रयास गरेको कुरा विभिन्न सञ्चार माध्यम तथा स्थानीय व्यक्ति तथा स्वयं पीडित पक्षबाट विभिन्न रुपमा सार्वजनिक भइरहेको छ ।’

‘यति मात्र होइन बलात्कार जस्तो जघन्य अपराध र फौजदारी अभियोगको घटनालाई आजको लोकतान्त्रिक समाजमा समेत पञ्चायती गरी डर, त्रास र लोभ देखाई सामसुम पार्न खोजिनु झन खेदजन्य विषय हो ।’ उनले भनेका छन्, ‘पीडक पक्षबाट पीडितलाई केही रकम भराई मिलापत्र गराउने भन्ने निर्णयमा सहभागी रहेको जनप्रतिनिधिहरु लगायत स्थानीय ठुलाबडाहरुसहितका व्यक्तिहरुको नाम सार्वजानिक भइरहेको छ ।’

पीडितले न्याय नपाएर मनोवैज्ञानिक त्रास उत्तिकै दिइरहेको छ । जरिवाना बापतको रकम स्वयं स्थानीय जनप्रतिनिधिहरुले नै बाँडेर लिन लागेको कुरा सुनिनु झन् लज्जाजनक र खेदपूर्ण विषय रहेको सांसद चौधरीले भनेका छन् ।

यस घटनामा स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकको पनि मिलेमतो रहेको भन्ने सुनिन आएको हुनाले रक्षक नै भक्षक भएपछि गाउँका सर्वसाधारण अब न्यायका लागि कसको शरणमा जाने भन्ने चिन्ता सुरु भएको छ ।

पीडित परिवारहरु बारम्बार न्यायको गुहार लगाई रहेको यो अवस्थामा कसैका डर, त्रास, धम्की र दवावमा नपरी बलात्कारको प्रयास गर्ने एवम् जरिवानाको पैसा पिडितलाई नदिई पचाउन खोज्ने सबै दोषीहरुलाई कानुनी कारवाही गरी हदैसम्मको दण्ड सजाय गराउन र पीडितलाई न्याय दिलाउन सम्बन्धित प्रहरी कार्यालय एवम् सरोकारबाला सबैलाई उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ