बैशाखभित्रै रेल सञ्चालनमा आउँछ : मन्त्री नेम्वाङ

समाचार

4/18/2021

जनकपुरधाम, ५ बैशाख । भारतको सीमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरधामसम्म यसै महिनाभित्र रेल सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले दावी गरेका छन् ।

उनले कोरोना महामारीको कारण रेल सञ्चालनमा आउन नसकेपनि परिस्थिति राम्रो भए यसै महिनाभित्र रेल सञ्चालनमा आउने बताएका हुन् ।

शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री नेम्वाङले नेपाली जनताको चाहनाअनुरुप चाँडै रेल संचालनमा ल्याउने आफूहरुको योजना रहेको बताए ।

उनले ३५ किलोमिटर रेल संचालनमा ल्याउने तयारी गरिरहेको र यसको लागि कर्मचारीलाई दुई÷तीन दिनभित्र तालिमको व्यवस्था गर्न लागेको बताए । उनले ठ्याक्कै यही मितिमा रेल चल्ने भन्न नसकिए पनि वैशाख महिनाभित्रै कुर्थासम्म रेल संचालनमा ल्याउने गरी काम अगाडि बढाएको उनले दावी गरे ।

रेल संचालनमा ल्याउनका लागि कर्मचारी भर्ना गर्न विज्ञापन गरेपनि लोकसेवा आयोगले प्रक्रिया अगाडि बढाउन नसक्दा जनशक्ति पूर्ति गर्न नसकिएको मन्त्री नेम्वाङले बताए ।

उनले सामान्य प्रशासनले केही कर्मचारी पठाउन लागेको र केही कर्मचारी बाहिरबाट ल्याएर रेल संचालनमा ल्याउने बताए। कोरोनाले फेरि कठिनाइ उत्पन्न नगरे चाँडोभन्दा चाँडो रेल संचालनमा ल्याइने उनको दावी छ ।

साथै उनले रेल लिक महोत्तरीको बर्दिवाससम्म जोड्ने र पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि त्यहाँ रेल्वे सवस्टेशन निर्माण गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।

विद्युतीय रेलमार्गका लागि बर्दिवासमा सवस्टेशन बनाउने तयारी रहेपनि जग्गा अधिग्रहणमा समस्या देखिएकाले काम अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो । गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल आए पनि चल्न नसकेपछि हाल परवाहामा राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ