वीरगन्ज, १५ पुस । नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले ताजा जनादेशका लागि मुलुक चुनावमा गइरहेकाले चुनावको तयारीमा जुट्न अगुवा नेता कार्यकर्तालाइ निर्देशन दिएका छन् ।
बैशाख १७ र २७ मा संसदको निर्वाचन हुने निश्चित भएकाले यसमा शंका उपशंका नगरी निर्वाचननको तयारीमा अहिलेदेखि नै लाग्न महासचिव पौडेलले निर्देशन दिए ।
वीरगन्जमा बुधबार नेकपाको केपी शर्मा ओली समूहले आयोजना प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारले तोकेकै मिमिमा निर्वाचन गर्ने दृढ्ता व्यक्त गरे । उनले संसद बिघटन र चुनावको मिति घोषणा गर्ने सरकारको निर्णय संविधान सम्वत र लोकतान्त्रिक रहेको दाबी गरे ।
संसदका बहुमत सदस्यको साथ लिएर प्रधानमन्त्री ओलीले गरेको निर्णयलाइ न्यायलयले पनि सदर नै गर्ने भएकाले तोकिएको मितिमै निर्वाचन हुने ठोेकुवा उनले गरे ।
सुरक्षा निकायका प्रमुख र निर्वाचन आयोगले पनि बैशाख १७ र २७ मा निर्वाचन गर्न कुनै बाधा र अवरोध नभएको प्रतिबद्धता जनाइ सकेको पनि मन्त्री पौडेलले बताए ।
ताजा जनादेशका लागि सार्वभौम जनताकोबीचमा जाने प्रधानमन्त्री ओलीको कदम लोकतन्त्रको सुन्दरतम पक्ष भएको उनको भनाइ थियो ।
राष्ट्र र जनताको हितमा काम गरिरहेको सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने षडयन्त्र आफनै पार्टी भित्रबाट भएपछि उक्त षडयन्त्रलाई विफल पार्न प्रधानमन्त्री ओलीले बाध्य भएर संसद बिघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने निर्णय गर्नु परेको पौडेलले बताए ।
पार्टी मात्र नभई मुलुककै अस्तित्व खतरामा परेपछि यो कदम अपरिहार्य थियो भन्दै उनले पार्टी बाहिरका शक्तिको साथ लिएर प्रचण्डले पार्टी र सत्ता कब्जामा लिने षड्यन्त्र गरेकाले ओलीले उक्त षड्यन्त्र विफल पारिदिएको पौडेलको जिकिर थियो ।
भदौंको स्थायी समिति बैठकमा प्रचण्डले पार्टी अध्यक्ष एपम् प्रधानमन्त्री ओली विरुद्ध पेश गरेको १८ पृष्ठको कथित आरोपपत्र नै पार्टी विभाजनको आधार बनेको उनको दाबी थियो ।
उनले भने,‘जब सरकारले राम्रो काम गर्न थाल्यो तब पार्टीकै केही शीर्ष नेताले पद र कुर्सीका लागि खुट्टा तानेर प्रधानमन्त्री ओलीलाई काम गर्न दिएनन्, त्यसैको क्षति अहिले पार्टीले व्यवहोर्नु परिरहेको छ ।’
तपाईको प्रतिक्रिया