बिषाक्त मदिरा सेवन गर्दा एकै गाउँका ८ जनाको मृत्यु

समाचार

6/15/2021

सर्लाही, १ असार । बिषाक्त मदिरा सेवनका कारण सर्लाहीको एउटै गाउँका ८ जनाको मृत्यु भएको छ । जिल्लाको ब्रहम्पुरी गाउँपालिका वडा नम्बर ५ पडरिया टोलमा बिषाक्त मदिरा सेवनका कारण सोही टोलका ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ५ जना पडरिया टोल निवासी हुन् भने अन्य तीन जना सोही टोलमा रहेको नेपाल इँटा उद्योग र चन्दन इँटा उद्योगमा कार्यरत भारतीय मजदुर रहेको ब्रहम्पुरी गाउँपालिकाका स्वास्थय शाखा संयोजक उपेन्द्र राउतले जानकारी दिए ।

मृत्यु हुनेहरूमा पडरिया गाउँका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छन् ।

यस्तै भारतको उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसादको पनि मृत्यु भएको छ । उनीहरु सबैको पछिल्लो चार दिनभित्र मृत्यु भएको राउतले बताए ।

मृत्यु भएका आठै जनामा बान्ता हुने, पेट दुख्ने समस्या भएको तथा उपचारको क्रममा सर्लाहीको मलंगवा अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए ।

उनीहरुले गाउँकै मदिरा पसलमा मदिरा सेवन गरेको राउतको भनाइ छ । चार दिनको अवधिमा एउटै टोलमा ८ जनाको मृत्यु भएपछि स्वास्थ्य निर्देशनालय जनकपुरका स्वास्थ्य निर्देशक डा.कमलेश यादवसहितको टोलीले गाउँमा पुगी निरीक्षण गरेको छ ।

मृत्यु हुने सबैजना मदिरा सेवनकर्ताहरु भएको तर पोष्टमार्टम र भिसेरा रिपोर्ट नआएसम्म बिषाक्त मदिराकै कारण ज्यान गएको भन्न नमिल्ने स्वास्थ्य निर्देशनालय जनकपुरका डा. यादवले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ