बस्तीमा डोजर चलाउँदा दलित परिवारको विचल्ली

समाचार

1/14/2021

वीरगञ्ज, १ माघ । नेपाल रेल्वेको जग्गामा बसोबास गर्दै आएका दलितहरुको बस्तीमा डोजर चलेपछि त्यहाँ बस्दै आएका स्थानीय विचल्लीमा परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित रेल्वेको जग्गामा बस्दै आएका दलित बस्तीको १२ वटा घरमा डोजर चलेपछि उनीहरुको विचल्ली भएको हो ।

 

केही दिनअघि वडा नम्बर २१ का वडाध्यक्ष हबिब मियाँकै उपस्थितिमा रेल्वेको जग्गामा वर्षौदेखि घर बनाएर बस्दै आएका १२ परिवारको घरमा प्रशासनले डोजर चलाएको हो ।

पूर्वसूचना बिना वडाध्यक्ष मियाँको निर्देशनमा आफूहरुको घरमा डोजर चलाइएको पीडितले गुनासो गरेका छन् ।

पीडितहरुले आफूहरुलाई अन्यत्र बस्ने सुविधा हुनुपर्ने माग गर्दै बुधबार वीरगञ्जमा पत्रकार सममेलन पनि गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरुले पूर्वाग्रही ढंगले वडाध्यक्षकै मिलेमतोमा केही घरहरुलाई मात्र भत्काएर आफूहरुलाई घर न घाटको बनाइएको गुनासो गरे ।

घर भत्काइएपछि जाडोको मौसममा साना नाति–नातिनी थप विचल्लीमा परेको पीडित परिवारको दुखेसो छ ।

वडाध्यक्षले नै डोजर चलाउन लगाएपछि आफूहरुको घरपनि डोजरले भत्काउने चिन्ताले सताउन थालेको पत्रकार सम्मेलनमा सहभागी रेल्वैकै जग्गामा बसोबास गर्दै आएका रामदेव रामले बताए । स्थानीय जनप्रतिनिधिले आफ्ना घर भत्काउने धम्की दिइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ