भूकम्प पछिको पुनर्निर्माणका लागि भारतद्वारा १ अर्ब ५४ करोड हस्तान्तरण

समाचार

9/23/2020

काठमाडौं, ८ असोज । नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले एक अर्ब ५४ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप नेरु १ अर्ब ५४ करोड (भारु ९६ करोड) बराबरको चेक हस्तान्तरण गरेकी छन् ।

भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।

यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ ।

भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायताअन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ ।

यसमध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।

भूकम्प पछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहेको काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत् जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ