संखुवासभा, २३ माघ । जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली सुरुदेखि नै वर्तमान संविधानको विरोधी भएको आरोप लगाएका छन् ।
उनले अहिलेको संविधान पहिलेदेखि नै ओलीलाई चित्त नबुझेको आरोप लगाए ।
प्रतिनिधिसभा विघटनतविरुद्ध संखुवासभाको खाँदबारीमा आयोजित विरोध सभालाई शुक्रबार सम्बोधन गर्दै भट्टराईले ओलीलाई गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताप्रति इच्छा नभएकाले भित्री र बाहिरी शक्तिसँग मिलेर संसद् विघटन गरेको दाबी गरे ।
नेकपा विभाजनको औपचारिक टुंगो नलागेकाले कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरु एक हुन नसकेको भट्टराईको तर्क छ ।
ओलीले संविधानमाथि प्रहार गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा लागेको पनि भट्टराईले आरोप लगाए ।
त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले आगामी वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने दाबी गरे । उनले प्रधानमन्त्री केपी ओलीले चुनाव गराउन नभइ दम्भ देखाउन प्रतिनिधिसभा खारेज गरेर चुनाव घोषणा गरेको आरोप लगाए ।
प्रधानमन्त्री चुनाव गराउने मानसिकतामा नभएको यादवले बताए । निर्वाचन पनि हुन नसक्ने र संसद् पनि भंग भएको अवस्थामा मुलुकलाई अँध्यारो सुरुङमा राख्न खोजिएको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीले संघीयता, लोकतन्त्र र परिवर्तन उपर प्रहार गरेको बताए ।
तपाईको प्रतिक्रिया