भेन्टिलेटर खरिद गर्न सांसद विकास कोषबाट ५८ लाख सहयोग

समाचार

5/6/2021

वीरगंज, २३ बैशाख । पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव र क्षेत्र न.२ का सांसद विमल श्रीवास्तवले आफ्नो सांसद विकास कोषको रकम रकमान्तर गरी कोरोना रोकथाम र उपचारका वीरगंज महानगरपालिकालाई उपलब्ध गराएका छन् ।

कोभिड–१९ को रोकथाम र उपचारको लागि भेन्टिलेटर किन्न तथा आइसोलेसनमा लाग्ने स्वास्थ्य समाग्रीका लागि यादव र श्रीवास्तवले ५८ लाख ८ हजार रकम रकामान्तर गरी उपलब्ध गराएका हुन् ।

जिल्ला समन्वय समिति पर्साको कार्यकक्षमा बसेको बैठकमा विभिन्न योजनामा विनियोजित बजेट काट्ने र स्थानीयवासीको जीवन रक्षामा खर्च गर्नेबारे छलफल भएको थियो ।

छलफलमा निर्वाचन क्षेत्र नं. १ र २ को निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट सञ्चालित स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रमको रकम कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय गरिएको छ ।

साथै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ का विभिन्न योजनाहरुको ५८ लाख ८ हजार रुपैयाँ वीरगन्ज महानगरपालिकालाई भेन्टिलेटर र स्वास्थ्य उपकरण खरिदका लागि दिने निर्णय बैठकले गरेको हो ।

सरकारको नीतिअनुसार स्थानीय तहमा योजनाको रकम रकमान्तर गरी विकास कार्यमा लगाउन सकिने भएको हुँदा सो रकम कोरोना महामारी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकालाई दिने निर्णय गरिएको सांसद प्रदीप यादवले बताए ।

बैठकबाट निर्वाचन क्षेत्र नं. १ र २ अन्तर्गत पर्ने स्थनीय तह वीरगन्ज महानगरपालिकालाई परिपत्र गरी यसबारे जानकारी गराउने निर्णय गरिएको पर्सा निर्वाच क्षेत्र नं. १ का संघीय सांसद यादवले बताए ।

उनले चाँडै खरिद प्रक्रिया पुरा गरी जनताको सेवामा लाग्न वीरगन्ज महानगरपालिकालाई अनुरोध गरेका छन् । सांसद यादवले संसदीय विकास कोषबाट खरिद गरिएको एम्बुलेन्स र शव वाहन पर्सा क्षेत्र नं.१ को वीरगंज महानगरपालिकालाई यसै हप्ता हस्तान्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ