काठमाडौं, २८ जेठ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर भारतसँगको सीमा विवाद समाधानको विकल्प नेपाली भूमि फिर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
उनले प्रतिनिधिसभाको बुधबारको बैठकमा भारतले सैनिक बसालेर कब्जा गरेको नेपालको भूमि फिर्ता गर्नु नै समस्याको समाधान रहेको बताएका हुन् ।
भारतसँगको सीमा विवाद प्रमुख रूपमा कालापानी, लिपुलेक र लिम्पियाधुरामा रहेको बताउँदै ओलीले उक्त भूमि फिर्ता हुनुपर्ने बताएका हुन् ।
‘कालापीनीमा भारतीय फौज बसेर त्यसभन्दा परको लिपुलेक र लिम्पियाधुरालाई भारतले कब्जा गरेको छ । हामीबाट त्यो भूमि भोगचलन गर्न सेना राखेर छुट्याइएको हो । सेना राखेर भोगचलन गर्न नदिइएको हो । यो कब्जा हो,’ प्रधानमन्त्रीले थपे, ‘यो उचित भएन भनेर हामी हाम्रो मित्रराष्ट्र भारतलाई भनिरहेका छौं । तथ्य, प्रमाणका आधारमा भनिहरेका छौं भूमि फिर्ता गर्नुपर्छ । कालापानी विवादको समाधान भनेको हाम्रो भूमि फिर्ता गर्नु हो ।’
भारतले नक्कली महाकाली नदी खडा गरेर ठूलो क्षेत्रमा सैनिक कब्जा गरेको प्रधानमन्त्रीको भनाइ थियो । भारतसँग कतिपय क्षेत्रमा सीमा विवाद रहे पनि कालापानीमा भारतको कब्जा भएको उनको भनाइ थियो ।
भारतले कालापानीक्षेत्रबारे नेपालले पटक–पटक पठाएका कूटनीतिक नोट र वार्ताका लागि ताकेता गर्दा पनि नमानेका बेलामा प्रधानमन्त्रीले सीमा समस्याको समाधान कूटनीतिक माध्यम नै भएको बताए । त्यसका लागि नेपालले बारम्बार पहल गरिरहेको छ । भारतले कूटनीतिक माध्यमबाट नै उक्त विवाद समाधानका लागि सहमत हुने ओलीको भनाइ थियो ।
संसदमा भूमि फिर्ता ल्याउनेबारे सकारात्मक रूपमा चर्चा भएको प्रधानमन्त्रीको भनाइ थियो । सबै दल एकठाउँमा आएर भूमि फिर्ता ल्याउन र सार्वभौमिकता, स्वाधिनता, भौगोलिक अखण्डताका सन्दर्भमा सबै दल एकमत हुनु सकारात्मक भएको र सरकारले गरिरहेका क्रियाकलापमाथि शंका नगर्ने उनउले आग्रह गरेका छन् । भारतले कब्जा गरेको भूमि नेपालको हो भन्ने तथ्यका आधारमा सरकारले कदम चालेको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को प्रतिवेदन भारतका प्रधानमन्त्रीले नबुझ्नु असहज र अस्वाभाविक रहेको प्रधानमन्त्रीको भनाइ छ । सांसदहरूले भारतले ईपीजीको प्रतिवेदन कहिले बुझ्छ र कहिले कार्यान्वयन हुन्छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले भने, ’उहाँहरूले बुझ्नुभएको छैन । यो एउटा दुःखद् हो । दुई वर्षदेखि भारतको रुचि नदेखिनु सहज र स्वाभाविक कुरा होइन ।’
तपाईको प्रतिक्रिया