भारतको सहयोगमा काभ्रेमा दुई विद्यालयको निर्माण सुरु

समाचार

4/2/2021

काठमाडौं, २० चैत । भारत सरकारको आर्थिक सहयोगमा काभ्रेमा दुई विद्यालयको निर्माण कार्य सुरु भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थितिमा शुक्रबार काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित श्री हरिसिद्घि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित श्री सिद्घेश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा सम्पन्न भएको हो ।

नेरु. २.८४ करोड लागतमा श्री हरिसिद्घि माध्यमिक विद्यालयको निर्माण हुनेछ भने श्री सिद्घेश्वर माध्यमिक विद्यालयको निर्माण लागत नेरु. ३.९६ करोड रहेको छ ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप यी विद्यालयहरुको निर्माण गरिने काठमाडौंस्थीत भारतिय दूतावासले जनाएको छ ।

श्री हरिसिद्घि माध्यमिक विद्यालयको तीन तल्ले नयाँ संरचनामा ९ वटा कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय र विद्यार्थीहरुका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ ।

त्यस्तै, श्री सिद्घेश्वर माध्यमिक विद्यालयको तीन तल्ले नयाँ संरचनामा १३ वटा कक्षा कोठा, लेखा, प्रधानाध्यापक र अध्यापकका लागि कक्ष, परीक्षा कक्ष, प्रारम्भिक बालविकास कक्ष, प्रशासनिक कक्ष, विद्यालय व्यवस्थापन समिति कक्ष र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ ।

यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतको शीर्ष संस्थानको रुपमा परिचित छ ।

२०७२ सालको भूकम्पले क्षति पु¥याएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण हेतु भारत सरकारले ५० मिलियन अमेरिकी डलर (करिब नेरु. ५.८ अर्ब) आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

यस भूमि पूजासँगै ७० वटा विद्यालयको पुनर्निर्माण सुरु भएको छ जसमध्ये ८ वटा विद्यालयहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ