काठमाण्डौ, २६ असोज । पूर्व सांसद तथा जसपाकी पूर्व नेतृ सरिता गिरीले नेपालले चीनतर्फको भूमिको सुरक्षा गर्न नसकेको टिप्पणी गरेकी छिन् ।
उनले चीनसँगको सीमा सुरक्षाका लागि भारतीय सहयोग लिनुपर्ने सुझाव दिइन । गिरीले एक विज्ञप्तिमार्फत चीनतर्फको आफ्नो भूमि सुरक्षा गर्न सरकार असफल भइसकेको अवस्थामा भारतको सहयोग लिनुपर्ने बताइन । गिरीले चीन सिमानामा रहेका स्तम्भ अनुगमन गर्न गएको नेपाली टोलीलाई चिनियाँ पक्षले नेपालकै भूमिमा पसेर अश्रु ग्यास प्रहार गरेको र नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामा सामान्य घाइते भएको बताएकी छिन् ।
यस घटनाबारे सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन पनि गिरीको माग छ । भारतले मिचेको नेपाली भूमिसहित नेपालले नयाँ नक्सा जारी गर्दा गिरीले आपत्ति जनाउँदा पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाएको दाबी गर्दै उनले यस परिस्थितिमा यदि नेपाल सरकार स्वयं नेपाल–चीन बीचको उत्तरी सिमानाको सुरक्षा गर्न नसकेका कारण १९५० को भारतसंँगको मित्रता र शान्ति सहमति अनुसार भारत सरकारको सहयोग लिइ पनि सिमानाको सुरक्षा गर्नुपर्न उनको धारणा छ ।
तपाईको प्रतिक्रिया