काठमाडौं, २३ कार्तिक । कोभिड–१९ महामारी विरुद्धको लडाईमा भारत सरकारले सहयोगका लागि नेपाल सरकारलाई २८ वटा आसियु भेन्टिलेटर प्रदान गरेको छ ।
भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आइतबार २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेका छन् ।
यस अघि भारतले नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड–१९ परीक्षण कीट (आरटी–पिसिआर), श्रावण २५ गते आइसीयु भेन्टिलेटर र भाद्र ३० गते रेमडेसिभिर औषधी प्रदान गरिसकेको छ ।
हस्तान्तरण समारोहमा बोल्दै राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको कुरा दोहोर्याए । साथै, उनले यस किसिमका आवश्यक सहयोग गर्न भारत सधै प्रतिबद्ध रहेको कुरामा जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया