काठमाडौं, २० फागुन । विद्युत् व्यापार सम्झौता भएका मुलुकले आफ्नो देशको कम्पनीमार्फत विद्युत् आयातनिर्यात गर्न पाउने गरी भारतले अन्तरदेशीय विद्युत् आयातनिर्यात कार्यविधि जारी गरेको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले जारी गरेको उक्त कार्यविधिसँगै नेपालमा उत्पादित विद्युत् भारत निर्यातका लागि कानुनी आधार तय भएको छ ।
कार्यविधिअनुसार भारतीय कम्पनीमार्फत भारतीय बजार र बंगलादेशसँग पनि विद्युत् व्यापारका लागि बाटो खुला भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
‘हामी आफैं गएर बंगलादेशलाई विद्युत् बिक्री गर्न नपाए पनि भारतीय कम्पनीमार्फत बंगलादेशलाई अप्रत्यक्ष रूपमा विद्युत् बिक्रीका लागि बाटो खुला भएको छ,’ उनले भने, ‘भारतमा विद्युत् बिक्रीका लागि भारतीय कम्पनी एनभीभीएनसँग हामीले सैद्धान्तिक सहमति गरिसकेको विद्युत् व्यापारको प्रक्रिया चाँडै सुरु गर्न सक्छौं भन्ने लागेको छ ।’
भारतले तयार पारेको निर्देशिकामा भारतीय कम्पनीले भारतसँग ऊर्जा व्यापार सम्झौता भएका मुलुकबाट विद्युत् आयात र त्यस्ता देशमा निर्यात गर्न पाउने प्रावधान राखिएको छ ।
यस्तै भारतसँग ऊर्जा व्यापार सम्झौता भएका मुलुकमा उत्पादित विद्युत् भारतको इनर्जी एक्सचेन्ज बजारमा बिक्री पनि भारतीय कम्पनीमार्फत नै गर्नुपर्ने प्रावधान कार्यविधिमा छ ।
आगामी जेठदेखि २५ मेगावाट विद्युत् चौबीसै घण्टा बढी हुने प्राधिकरणको प्रक्षेपण छ । माथिल्लो तामाकोसी निर्माण भएपछि पिक आवरबाहेकको समयमा ५ सय मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने प्राधिकरणले विश्लेषण गरेको शाक्यले जानकारी दिए ।
सन् २०१८ मा भारतले तयार पारेको अन्तरदेशीय विद्युत् व्यापार निर्देशिकाको आधारमा भारतको केन्द्रीय विद्युत् प्राधिकरणले कार्यविधि जारी गरेको हो ।
कार्यविधिमा भारतले ऊर्जा व्यापार सम्झौता गरेका देशले भारतीय निकायमार्फत भारतमा विद्युत् निर्यात गर्न पाउने व्यवस्था राखिएको छ । कार्यविधिमा भारतको छिमेकी मुलुक भए पनि भारतले विद्युत् ऊर्जा व्यापार सम्झौता गरेका मुलुकबाट मात्रै विद्युत् निर्यात गर्न पाइने व्यवस्था पनि छ ।
तपाईको प्रतिक्रिया