भारतबाट आइपुग्यो लिक्विड अक्सिजन

समाचार

5/16/2021

भैरहवा, २ जेठ । स्थानीय प्रशासनको सहजीकरणमा भारतबाट भैरहवा नाका हुँदै ५ सय सिलिण्डर लिक्विड अक्सिजन नेपाल आइपुगेको छ । यो अक्सिजन रुपन्देहीका अस्पतालमा उपचाररत कोभिडका बिरामीका लागि उपलब्ध गराइने छ ।

कोभिड संक्रमित बिरामी बढेपछि रुपन्देहीमा उत्पादनभन्दा माग अत्यधिक हुँदा अक्सिजनको हाहाकार छ । कतिपय बिरामीले अक्सिजनको अभावले ज्यान गुमाइसकेका छन् ।

ल्यान्ड इण्डिया लिमिटेड झारखण्डबाट शंकर अक्सिजन ग्यास प्रालि काठमाडौंबाट अक्सिजन आयात गरिएको हो । माहामारीको बेला अक्सिजनको अभाव हुन नदिन सरकारले यतिबेला अक्सिजनको आयातमा भन्सार छुट दिएको छ ।

एनएल ०१ एल ४६९८ नम्बरको ट्यांकरबाट भित्रिएको उक्त अक्सिजन शंकर ग्यास अक्सिजन प्रालिको रुपन्देही छिपागढस्थित प्लान्टबाट सिलिण्डरमा भरिने छ । शंकरको काठमाडौं, नारायणघाट र रुपन्देहीमा लिक्विड अक्सिजन सिलिण्डरमा भर्ने प्रविधि सहितको अक्सिजन प्लान्ट सञ्चालनमा छन् ।

शंकरका सञ्चालक शंकरलाल अग्रवालले अक्सिजन ढुवानी गर्ने ट्यांकको अभावले चाहेको परिमाणमा भारतबाट अक्सिजन आयात गर्न नसकिएको बताए । यतिबेला आफूसँग दुईवटा मात्र ट्यांक रहेको र ढुवानीका लागि अन्य ट्यांकको व्यवस्था मिलाउन नेपाल सरकार, राजदूतावास र अन्य उद्यमी व्यवसायी समेत जुटेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ