काठमाडौं, २३ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि आठ होटललाई सूचीकृत गरेको छ ।
नेपाल–भारतबीच कायम सुविधाअन्तर्गत भारतबाट हवाई उडानमार्फत आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राख्नका लागि होटल सूचीकृत गरिएको हो ।
मन्त्रालयले क्वारेन्टिनका लागि जारी गरेको सूचनामा गोदावरीको भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालाको अमादब्लम होटेल, रिडर्स इन र आनन्द आश्रम तथा जगातीस्थित फार्म हाउस रिर्सोट र ए–वान रिर्सोट रहेका छन् ।
यी होटेलमा १० देखि ९१ कोठा उपलब्ध छन् । उल्लेखित होटलको विवरण नेपाल पर्यटन बोर्डले आवश्यकताअनुसार समयसमयमा अधावधिक गरी सरोकारवालालाई सूचित गर्ने मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको पनि सूचनामा उल्लेख छ । यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटेलले प्रहरीलाई खबर गर्नुपर्नेछ ।
तपाईको प्रतिक्रिया