भारतबाट लुकेर आउँदा कोरोना फैलियो : मुख्यमन्त्री राउत

समाचार

7/29/2020

वीरगन्ज, १४ साउन । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले वीरगन्ज र राजविराजमा लुकिछिपी नेपाल छिरेका भारतीय नागरिकका कारण कोरोना संक्रमण फैलिएको बताएका छन् ।

उनले सीमा क्षेत्रमा कडाई गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिइसकेको समेत बताए ।

‘खुल्ला सीमाका कारण झुण्ड–झुण्ड भारतीय नागरिक आएका छन् । उनीहरुबाट नै कोरोना संक्रमण फैलिएको छ’ उनले भने ‘सीमा क्षेत्रमा कडाइ नगरी हुँदैन, वीरगञ्ज उद्योग वाणिज्य संघमा मंगलबार आयोजित सर्वपक्षीय छलफलमा मुख्यमन्त्री राउतले विषम परिस्थितिको सामना गर्न राजनीतिक दल एक हुनुपर्ने बताए ।

‘महामारी नियन्त्रण संघीय सरकारको जिम्मेवारी हो भनेर हामी बसेका छैनौं । सकेको सहयोग गरिरहेका छौं । अहिले एक अर्कालाई दोष दिएर पार लागिदैन’ मुख्यमन्त्रीले भने

‘वीरगञ्जमा तीन जना भारतीय जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि जुन किसिमले व्यवस्थापन भयो । अहिले त्यसरी नै काम हुनुपर्छ । त्यसका लागि यहाँका राजनीतिक दल एक हुनुपर्छ,’ राउतले भने ।

नारायणी अस्पताल केन्द्र सरकारको मातहत भएपनि मलेकुलर ल्याब स्थापनाका लागि ५० लाख, खानाका लागि २५ लाख र लाखौं मुल्यको अन्य सामाग्री प्रदेश सरकारले सहयोग गरेको उनले बताए ।

वीरगञ्जमा कोभिड अस्पताल स्थापनाका लागि ठाउँ छनौट गरिसकेपछि प्रदेश सरकारले सक्नेजति आर्थिक सहयोग दिने उनले वाचा गरे ।

छलफलमा सहभागी अन्यले वीरगञ्जमा कम्तीमा ५ सय बेडको कोरोना अस्पताल आवश्यक रहेको बताए । वीरगञ्जको स्थिति बिग्रदै गएकोले यहाँका बासिन्दालाई बचाउनका लागि कोरोना अस्पताल तत्काल बन्नुपर्ने उनीहरुको धारणा छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ