काठमाडौं, ५ बैशाख । भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरेको कोभिड– १९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोप वैशाख दोस्रो सातासम्म नेपालमा उपलब्ध गराइदिने आश्वासन भारत सरकारले दिएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी डा. एस. जयशंकरबीच हालै भएको टेलिफोन वार्तापछि नेपालले छिट्टै खोप पाउने सम्भावना बढेको छ ।
दुई मन्त्रीको टेलिफोन वार्तापछि खोप छिटो आपूर्तिका लागि अनुकूल अवस्था बनेको दिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले बताए । परराष्ट्र मन्त्रालयका अनुसार वैशाख १५ भित्र खोप नेपाल आइपुग्ने आश्वासन नेपालले पाएको छ ।
नेपालले भारतको सेरम इन्स्टिच्युटसँग १० लाख डोज खोप खरिद गर्ने सहमति गरेको थियो । सेरम भारतीय सरकारी कम्पनी नभएका कारण दुई सरकारबीच जिटुजी खरिद सम्झौता भएन । नेपाल सरकारले सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि सुरुमै ८० प्रतिशत अग्रिम भुक्तानी गरिसकेको छ ।
नेपालले १० लाख डोज खोप ल्याइसकेको छ भने १० लाख डोज बाँकी छ । बाँकी खोप समयमा नआउँदा नेपालमा दोस्रो चरणको खोप अभियान प्रभावित हुने अवस्था आएको छ ।
ज्ञवालीले भारतबाट खरिद भएको खोप नआए दोस्रो चरणको खोप कार्यक्रम नै प्रभावित हुने र नेपाललाई अत्यन्त अप्ठ्यारो पर्ने भन्दै सहजीकरणका लागि आग्रह गरेका थिए ।
भारतीय विदेशमन्त्री जयशंकरले नेपाललाई खोप उपलब्ध गराइदिने आश्वासन दिएका थिए । स्रोतका अनुसार नेपाल र भारतका परराष्ट्र मन्त्रालयका अधिकारीबीच चरणबद्ध रूपमा यसबारे छलफल हुँदै आएको थियो ।
भारतले नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको छ भने नेपालले २० लाख डोज खोप खरिद गरेको छ । खरिद गरेकोमध्ये ‘सेरम इन्स्टिच्युट इन्डिया’बाट १० लाख डोज खोप ल्याउन बाँकी छ । विगतमा भारत सरकारले सहजीकरण गरेपछि सेरम इन्स्टिच्युटले सहुलियत दरमा नेपाललाई खोप उपलब्ध गराएको थियो ।
भारतले नेपाललाई ८ माघमा अनुदानका रूपमा १० लाख डोज कोभिसिल्ड खोप हस्तान्तरण गरेको थियो । उक्त खोप कोभिड महामारीका वेला अग्रमोर्चामा खटिएकालाई लगाइएको थियो ।
उनीहरूलाई पहिलो चरणको खोप लगाएको पनि दुई महिना भएको छ । त्यसपछि नेपाल सरकारले खरिद गरेर १० लाख डोज खोप ल्याएको थियो ।
भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई एक लाख डोज खोप पनि हस्तान्तरण भइसकेको छ । भारतबाट नेपालले अहिलेसम्म जम्मा ११ लाख डोज खोप अनुदानमा पाएको छ । नेपालले १० लाख डोज खरिद गरिसकेको छ भने थप १० लाख डोज खोपको प्रतीक्षामा नेपाल छ ।
तपाईको प्रतिक्रिया