काठमाडौं, १९ बैशाख । भारतले लकडाउनका कारण अलपत्र कामदार, विद्यार्थी र पर्यटकलाई एकबाट अर्को राज्य जान खुला गरेको छ । दोस्रो चरणको लकडाउन सकिन केही दिन मात्र बाँकी रहँदा गृह मन्त्रालयले बुधबार यस्तो निर्देशन दिएको हो ।
लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका प्रवासी कामदार, तीर्थयात्री, विद्यार्थी, पर्यटक र अन्य व्यक्तिलाई आउजाउ खुला गरिएको गृहसचिव अजय भल्लाद्वारा जारी निर्देशनमा उल्लेख छ ।
दोस्रो चरणको लकडाउन मे ३ मा सकिँदै छ । दुई राज्यबीचको समझदारीमा आउजाउ खुला गर्दा सामाजिक दूरी र स्यानिटाइज्डको व्यवस्था भने कायमै हुनुपर्ने मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को लक्षण नभएकालाई यात्रा अनुमति दिइने तर गन्तव्य पुगेपछि सम्बन्धित राज्य सरकारले उनीहरूको स्वास्थ्य परीक्षण गर्नुपर्ने निर्देशनमा उल्लेख छ । मन्त्रालयले मे ४ देखि लागू हुने गरी कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथामबारे नयाँ दिग्दर्शन जारी गर्दै छ ।
केही समययता गुजरात र महाराष्ट्रमा अलपत्र उत्तर प्रदेश र विहारका कामदारले गाउँ फर्कन पाउनुपर्ने माग राखी प्रदर्शन गर्दै आएका छन् । कतिपय ठाउँमा झडपसमेत भएको थियो ।
उत्तर प्रदेश, मध्य प्रदेश, विहार, महाराष्ट्र, हरियाणालगायत राज्यले सरकारको निर्देशनअघि नै अलपत्र कामदारको नाम दर्ता गर्न थालिसकेका छन् । कतिपयले ओसार्नसमेत थालिसके । हिमाचल सरकारले पनि कश्मीरमा रोकिएका श्रमिकलाई फिर्ता ल्याउन पहल गरिरहेको छ । त्यसरी आएकालाई १४ दिन क्वरेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ ।
दिल्ली र हरियाणामा अलपत्र परेका आफ्ना नागरिकलाई उत्तर प्रदेशले सम्बन्धित जिल्ला सदरमुकाममा छाड्न सुरु गरेको छ । सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथले दुई महिनाभित्र करिब १० लाख जना फर्कने भन्दै आवश्यक तयारी गर्न जिल्ला प्रमुखहरूलाई निर्देशन दिएका थिए ।
कामदारको आवागमन ध्यानमा राख्दै सरकारले रेल्वे सेवा पनि नियमित गर्ने तयारी थालेको छ । सामाजिक दूरी राखेर रेल सञ्चालनको तयारी गरिएको उच्च अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । दोस्रो चरणको लकडाउनलगत्तै विदेशमा अलपत्र परेका भारतीयलाई स्वदेश फर्काउने तयारीसमेत हुँदै छ ।
तपाईको प्रतिक्रिया