भारतमा स्वीकृत भएको खोप नेपालका लागि सहज

समाचार

1/10/2021

काठमाडौं, २६ पुस । भारतले आपत्कालीन प्रयोगको मान्यता दिएको कोभिड–१९ विरुद्घका खोप कोभिसिल्ड र कोभ्याक्सिन नेपालका लागि समेत सहज हुने देखिएको छ ।

तिनलाई कोभाक्स सुविधाबाट सहुलियत दरमा प्राप्त हुने भनिएको खोपभन्दा छिटो ल्याउन पहल सुरु भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार खोपको सहज उपलब्धताका लागि भारत र नेपालबीच उच्चस्तरीय संवाद जारी छ । कोभिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीले पनि खोप ल्याउन नेपाल सरकारले भारतसँग गम्भीर कुरा गरेको जानकारी दिए । उनले खोप छिटो ल्याउन सिरम इन्स्टिच्युट अफ इन्डिया, भारत बायोटेक र भारत सरकारसँग कुरा भएको बताए ।

पूर्वाधारका दृष्टि नेपालका लागि २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने खोप उपयुक्त देखिएको छ । कोभिसिल्ड र कोभ्याक्सिन दुवै नेपालको राष्ट्रिय खोप कार्यक्रमको कोल्ड चेन अनुकूल छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले खोपका लागि भारतले सहयोग गर्ने प्रतिबद्घता जनाइरहेको बताए । सरकारले खोप उपलब्धताका लागि भारतलगायतका मुलुकहरूमा पहिल्यै कूटनीतिक नोटसमेत पठाइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ