बुटवल, २६ चैत । भैरहवामा रहेको क्वारेन्टाइनमा रहेका भारतीय नागरिकहरुको अवस्थाबारे बुझ्न महाराजगंजको नौतनवा विधानसभाका विधायक अमनमणि त्रिपाठी भैरहवा आएका छन् ।
सीमा नाकामा अलपत्र १५४ जना भारतीय नागरिकहरु भारत जान नपाएपछि उनीहरुलाई भैरहवास्थित प्रतिमान–नीमा कलेजमा राखिएको छ । उनीहरु चैत १८ गतेदेखि क्वारेन्टाइनमा छन् ।
भारतीय नागरिकहरु अवस्था बुझेपछि बोल्दै विधायक त्रिपाठीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वमै नै समस्या आएको अवस्थामा नेपालले भारतीय नागरिकका लागि राम्रो व्यवस्था गरेको बताए ।
नेपाल सरकारले गरेको व्यवस्था आफूलाई राम्रो लागेको उनले बताए । भारतको नौतनवास्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई पनि व्यवस्थित ढंगले राखिएको उनले बताए ।
नेपालीहरुको खाना तथा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको विधायक त्रिपाठीको भनाइ छ । कुनै असुविधाबारे जानकारी भए तत्काल त्यसलाई समाधान गर्नेतर्फ स्थानीय प्रशासन लागेको उनले बताए ।
भारतीय नागरिकहरुको अवस्थाबारे भैरहवा आएका विधायक अमनमणि त्रिपाठीले क्वारेन्टाइनमा खाना, स्वास्थ्य परीक्षण तथा बसोबासको व्यवस्थाबारे सकारात्मक रुपमा लिएको बताए ।
तपाईको प्रतिक्रिया