भारतीय ऊर्जा बजारमा नेपालको प्रवेश

समाचार

6/8/2021

काठमाडौं, २५ जेठ । भारतीय प्रतिस्पर्धात्मक ऊर्जा बजारमा नेपाल पहिलोपटक सफल भएपछि नेपालका ऊर्जा सचिवले आफ्ना भारतीय समकक्षीलाई आगामी प्रक्रियाका लागि ध्यानाकर्षण गराएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव देवेन्द्र कार्कीले भारतीय समकक्षी आलोक कुमारलाई पञ्जाब स्टेट पावर कर्पाेरेसन लिमिटेड (पीएसपीएसल) ले गराएको प्रतिस्पर्धामा नेपाल सफल भएको स्मरण गराउँदै भारतीय सहयोगका लागि ध्यानाकर्षण गराएका छन् । पीएसपीसीएलले गत अप्रिलमा गराएको प्रतिस्पर्धामा प्राधिकरणको बिड सफल भएको थियो ।

प्राधिकरण आगामी जुलाई, अगष्ट र सेप्टेम्बरसम्मका लागि चौबीसै घण्टा ४० मेगावाट बिजुली बेच्न गरेको बिड (प्रतिस्पर्धा) मा सफल भएको थियो । प्राधिकरणले आफ्नो बिजुलीको मूल्य प्रतियुनिट औसत भारतीय चार रुपैयाँ (६ रुपैयाँ ४० पैसा) राखेको थियो ।

गत जेठ १० गते भएको बाह्रौं दक्षिण एसियाली ऊर्जा सचिवस्तरीय बैठक (भिडियो कन्फ्रेन्स) मा नेपालले गरेको सफल बिडलाई सहमति दिन ध्यानाकर्षण गराएका हुन् ।

अघिल्लो महिना नेपालको बिड सफल भएको जानकारी प्राधिकरणले प्राप्त गरेको थियो । पीएसपीसीएलले आशय पत्र दिन बाँकी छ । आशय पत्र प्राप्त गरेपछि भारत सरकारको स्वीकृति चाहिन्छ ।

भारतले सन् २०१८ मा जारी गरेको सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिकामा छिमेकीहरुसित तीन प्रकारले विद्युत् व्यापार हुने बन्दोबस्त गरेको छ । पहिलो अन्तर सरकारी सम्झौता (आइजीए), विड रुट र तेस्रो प्रत्यक्ष ।

यसमध्ये नेपालले बिट रुट अर्थात् प्रतिस्पर्धामा भाग लिएको हो । सोही निर्देशिकाले छिमेकी देशको कुनै प्राधिकार बिड रुटमा सफल भएमा भारत सरकारको अनुमति पनि अनिवार्य लिनुपर्ने व्यवस्था छ ।

निर्देशिकाको सोही व्यवस्थाअनुसार भारत सरकारको सहमतिका लागि नेपालका ऊर्जा सचिव कार्कीले आफ्ना समकक्षीको ध्यानाकर्षण गराएका हुन् ।

पञ्जाबको उक्त पावर युटिलिटीले गत अप्रिलमा ६ सय देखि १८ सय मेगावाटसम्मको बिजुली आपूर्ति गर्न प्रतिस्पर्धा गराएको थियो ।

घटीमा २० मेगावाट बिजुली दिने बिड हुनुपर्ने प्रावधान थियो । प्राधिकरणले माथिल्लो भोटेकोसी (४५ मेगावाट) को बिजुली बर्खायाम (जुलाई देखि सेप्टेम्बरसम्म) मा बेच्न प्रस्ताव गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ