पर्यटकका लागि नाका खोलिदिन आग्रह

समाचार

1/14/2021

पोखरा, १ माघ । कोरोना कहरमा परेको पोखराको पर्यटन क्षेत्रले यो बेला प्रयाप्त आन्तरिक पाहुना नपाएपछि भारतीय पाहुना भित्र्याउने पहल थालेको छ । आन्तरिक पाहुनाको भरमा मात्र पर्यटन क्षेत्र धानिन नसकेकोले विकल्पमा भारतीय पाहुना भित्र्उाउनु आवश्यक परेको व्यवसायीले बताए ।

कोरोना संक्रमण बढेसँगै नेपाल–भारत सिमाबाट आउजाउ बन्द हुँदा भारतीय पर्यटक नेपाल आउन नपाएको पोखरेली व्यवसायीको गुनासो छ ।

भारतीय पाहुना नेपाल घुम्न आउन पाउनेगरि नाका खुलाइदिनुपर्ने माग यहाँका व्यवसायीको छ । स्वास्थ्य निर्देशिका बनाएर भारतीय पाहुनालाई नेपाल घुम्न आउने माहोल मिलाइदिनुपर्ने यहाँका व्यवसायीको माग छ ।

व्यवसायीले नेपाल–भारतबीचका मुख्य नाका खुलाएर पर्यटक आउजाउ गर्न पाउने गरि व्यवस्थापनको पहल गरिदिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मंगलबार स्मरणपत्र पनि बुझाएका छन् ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले आन्तरिक पाहुनाको भरमा मात्र व्यवसाय चलायमान हुन नसकेकोले अब भारतीय पाहुनालाई भित्रिन दिनुपर्ने बताए ।

‘भारतीय पाहुनालाई यो बेला भित्रिन दिने हो भने व्यवसाय केही आकारमा चलायमान बन्छ । नत्र आन्तरिकको भरमा मात्र थेग्न सकस भयो, ’ उनले भने ।

अध्यक्ष तुलाचनका अनुसार नेपाल र भारतबीचका मुख्य सिमा नाका बन्द हँुदा पर्यटक खुलमखुला रुपमा आउन पाएका छैनन् । अघोषित रुपमा भारतीय पाहुना नेपाल भित्रिएका पनि छ्न ।

तर, खुलमखुला रुपमा आउन नपाउँदा अप्ठेरो परेको तुलाचनले बताए । उनका अनुसार यो बेला भारतीय पाहुना नेपाल घुम्न आउन इच्छुक पनि छन् । तर, उनीहरुलाई घुम्न आउने अनुमति दिइएको छैन । कतिपय पाहुना गुपचुप रुपमा आउजाउ गरेपनि सहज रुपमा भित्रिने अवस्था नरहेको उनले बताए ।

नेपालमा भारतीय पाहुना भित्रिने मुख्य नाका सुनौली, वीरगञ्ज, काकडभिट्टा, पशुपतिनगर हुन् । ती मध्ये पनि सुनौली र वीरगञ्जबाट पोखरामा बढी भारतीय पाहुना आउँछन् ।

कोरोनाको असर सुरु हुनुअघि पोखरा आउने भारतीय पाहुनाको संख्या वार्षिक करिब दुईलाख हुने अनुमान थियो । तर, कोरोनाका कारणले योपटक भारतीय आउन पाहुना छैनन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ