भारतीय सेनाप्रमुख नरावणे नेपाल आउने

समाचार

10/15/2020

काठमाडौं, २९ असोज । भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे कात्तिकको तेस्रो साता तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल र भारतका सेनाप्रमुख एकअर्काको देशमा मानार्थ सेनाप्रमुख हुने परम्पराअन्तर्गत नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहणका लागि उनी नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् ।

उनको भ्रमणका विषयमा गत वर्ष माघ २० मै मन्त्रिपरिषद्ले निर्णय गरे पनि नेपाल–भारत सम्बन्धमा आएको चिसोपन तथा कोरोना महामारीका कारण दुवै देशमा गरिएको बन्दाबन्दीका कारण उनी आउन सकेका थिएनन् ।

दुई देशबीच सेनाप्रमुखलाई मानार्थ महारथी सम्मान आदानप्रदानको परम्पराअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले जिम्मेवारी सम्हालेको ४ महिनापछि २०७५ पुस २५ मा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको हातबाट सो सम्मान ग्रहण गरेका थिए । सन् १९४५ मा तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरको पालादेखि नेपाल–भारतबीच एकअर्काका सेनाप्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ