नयाँदिल्ली । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आइतबार भिडियो कलमार्फत् संवाद भएको छ । उनीहरुबीच आइतबार संवाद भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।
दुवै पक्षबीचको संवाद पछिल्लो भारत(चीनबीचको समस्या समाधानमा केन्द्रित भएको जनाइएको छ । स्रोतका अनुसार शान्ति स्थापना गर्न र आगामी दिनमा कुनै पनि तनाव सिर्जना हुन नदिन दुवै पक्ष सहमत भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३ जुलाईमा लेह पुगेर चीनलाई विस्तारवादको रणनीति अहिलेको समयमा लागु नहुने भन्दै चेतावनी दिएको तीन दिनपछि दुवै पक्षबीच संवाद भएको हो ।
यसअघि भारत र चीनबीच १५ जुनको राति लद्दाखको गलवान भ्यालीमा हिंसात्मक झडप भएको थियो । उक्त झडपपछि भारत(चीन सम्बन्धमा थप तनावको स्थिति उत्पन्न भएको थियो । उक्त तनावलाई साम्य पार्नका लागि दुवै पक्षबीच विभिन्न चरणमा विभिन्न तहमा वार्ताहरु भइरहेका छन् ।
तपाईको प्रतिक्रिया