काठमाडौं, ८ बैशाख । नेपालललाई आगामी पाँच वर्षसम्म जीटूजी (सरकार–सरकार) मोडलमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ ।
नेपालले दुई देशबीच जीटूजीमा मल खरिदका लागि गरेको प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
भारतले पठाएको जीटूजी मल खरिदको सहमतिको पत्र सोमबार आफ्नो हातमा परेको मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले बताए ।
‘इतिहासमै पहिलो पटक नेपालका लागि पाँच वर्षसम्म रासायनिक मल उपलब्ध गराउन भारत तयार भएको छ । यो नेपालका लागि ठूलो उपलब्धि हो,’ सचिव कार्कीले भने ।
भारतको सहमतिअनुसार नेपालले प्रतिवर्ष दुई लाख मेट्रिकटन रासायनिक मल भारतबाट खरिद सुनिश्चितता हुने सचिव कार्कीको भनाइ छ । त्यसमा करिब ७० हजार मेट्रिकटन डीएपी र एक लाख ३० हजार मेट्रिकटन हाराहारी युरिया हुने मन्त्रालयले जनाएको छ ।
सहमति प्राप्त भए लगत्तै मल खरिदका लागि भारतसँग एमओयूको तयारी थलिएको मन्त्रालयले जनाएको छ ।
दुई देश बीचको एमओयूपछि नेपालको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र समान स्तरको भारतीय सरकारी निकायबीच सम्झौता गरिने सचिव कार्कीले बताए ।
भारतबाट खरिद गरिने मल ग्लोबल टेण्डरबाट खरिद गरिने भन्दा सस्तो, गुणस्तीय र नेपालले मागेको समयमा उपलब्ध हुनेगरी सहमति भएको उनले बताए ।
तपाईको प्रतिक्रिया