काठमाडौं, १९ माघ । भारतले नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रीय बजेटअनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब १२ करोड भारु (एक अर्ब ८९ करोड रुपैयाँ)ले बढी हो ।
भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) प्राप्त गर्ने भएको छ ।
यसअघि भारतले आव २०२०/२१ को बजेटमा भने नेपालले पाउने अनुदानमा भारी कटौती गरेको थियो । आव २०१९/२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड थियो ।
गत वर्षको बजेटले यसलाई कटौती गरी आठ अर्ब ८० करोड भारुमा झारेको थियो । तर, आज सार्वजनिक भएको बजेटमा भने नेपालले पाउने अनुदानमा वृद्धि भएको हो ।
यो बजेट अप्रिल २०२१ बाट कार्यान्वयनमा आउने छ । भारतले पहिलो पटक पेपरलेस बजेट ल्याएको छ । जसमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।
भारतले विभिन्न मुलुकलाई दिने अनुदानमध्ये सबैभन्दा बढी रकम भूटानलाई छुट्टयाउने गरेको छ । यो रकममा समेत भारतले उल्लेख वृद्धि गरेको छ ।
आव २०२१/२२ मा भूटानले भारतबाट ३० अर्ब चार करोड भारु पाउने छ । चालु आव २०२०÷२१ मा भने भुटानले २२ अर्ब ६१ करोड पाएको थियो ।
त्यसअगाडिको आवमा भने २६ अर्ब ६७ करोड रुपैयाँ भारु भुटानलाई भारतले दिएको थियो । यो वर्ष अनुदानका रुपमा भुटानपछि नेपालले बढी पाएको छ ।
तपाईको प्रतिक्रिया