भारतले नेपाललाई १० लाख डोज कोरोना खोप दिने

समाचार

1/20/2021

काठमाडौं, ७ माघ । भारतले नेपाललाई कोरोना संक्रमणविरुद्धको खोप १० लाख डोज उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार संयुक्त पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् ।

खोप बिहीबार नेपाल आइ पुग्ने छ । भारतले कोभिसिल्ड नामक खोप नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको हो ।

स्वास्थ्यमन्त्री त्रिपाठीले खोपको पहिलो खोप बिहीबार काठमाडौं आइपुग्ने जानकारी दिए । उनका अनुसार कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिनेलाई खोप लगाउन सुरु गरिनेछ । खोप सहयोग गरेकोमो मन्त्री त्रिपाठीले भारतलाई धन्यवाद दिए ।

भारतको स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र औषधि विभागको संयुक्त बैठकले नेपाललगायत भारतका अत्यन्त नजिकका छिमेकी मुलुकमा सीमित संख्यामा कोरोना खोपको डोज पठाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार बुधबारदेखि नै खोप पठाइने भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको थियो ।

यसअनुसार नेपाल, भुटान, सेसल्स, अफगानिस्तान र बंगलादेशलाई सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड खोप प्रदान गरिनेछ भने मंगोलिया, ओमान, म्यान्मार, फिलिपिन्स, बहराइन, मालद्वीप र मरिसियसलाई भारत बायोटेक कम्पनीले उत्पादन गरेको खोप पठाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ