भारतसँगको व्यापार बढ्यो, चीनसँग घट्यो

समाचार

3/18/2021

काठमाडौं, ५ चैत । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भारतीय परनिर्भरता बढेको छ । नेपाल राष्ट्र बैंकले यो आर्थिक वर्षको सात महिनामा भारतसँगको व्यापार निकै बढेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

चीनसहित अन्य देशसँगको व्यापार भने घटेको छ । चीनले गत वर्ष फागुनदेखि कोरोना भाइरस महामारीलाई कारण देखाउँदै नाकामा कडाइ गरेको छ ।

नेपालको कुल अन्तर्राष्ट्रिय व्यापारमध्ये ६६.६ प्रतिशत भारतसँग मात्रै हुन्छ । १३.४ प्रतिशत चीन र बाँकी २० प्रतिशत अरू देशसँग हुन्छ ।

गत वर्ष यहीबेला भारतसँगको व्यापार साझेदारी कुल व्यापारको ६२.४ प्रतिशत मात्रै थियो । चीनसँग साढे १५ र अरू मुलुकसँग २२ प्रतिशत व्यापार हुँदै आएको थियो ।

चीन र बाँकी विश्वको व्यापारिक साझेदारीको केही हिस्सा यो वर्ष भारतमा स्थानान्तरण भएको छ । आठ रुपैयाँको निर्यात गर्दा ९२ रुपैयाँको आयात गर्ने नेपाली अर्थतन्त्रमा व्यापारिक परनिर्भरताको अर्थ पनि आयात निर्भरता नै हो ।

यस अवधिमा भारतबाट भएको आयात पोहोरभन्दा ७.१ प्रतिशतले बढेको छ । जबकि, यहीबीच चीनबाट भएको आयात साढे १२ र अन्य तेस्रो मुलुकसँगको आयात व्यापार १०.८ प्रतिशत घटेको छ ।

कोरोना महामारीले चीन र तेस्रो विश्वसँगको व्यापार घट्दा भारतसँग भने व्यापार बढ्दो क्रममै छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ