भारतसँग छिट्टै वार्ता हुन्छ : परराष्ट्रमन्त्री

समाचार

9/19/2020

बुटवल, ३ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् ।

प्रेस सङगठन नेपाल, रुपन्देहीले बुटबलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिए ।

खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा थपिएको बताउँदै उनले भने– निश्चित प्रयोजनका लागि वर्षौँ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ । उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ ।सरकारका प्रवक्ता ज्ञवालीले विकासका विषयमा भारसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गरे ।

नेकपाको स्थायी कमिटी सदस्य पनि रहेका ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताका केही विषयमा अमेरिकी सरकारसँग स्पष्ट भएर अनुमोदन हुने बताए ।

नेता ज्ञवालीका अनुसार सो विषयमा सच्याउनुपर्ने भएमा आवश्यक बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ । उनले पार्टी स्थायी कमिटीमा एमसिसीका कुनकुन बुंदा सच्याउने भन्ने कुरा नउठेको समेत स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ