कैलाली, १ चैत । सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन ।
नाका नखुल्दा अहिले दैनिक सयौँ भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् ।
खुला सिमानाका कारण नेपाली तथा भारतीय नागरिक लुकिछिपी नेपाल–भारत प्रवेश गर्ने गरेको भए पनि सीमा प्रहरी मुकदर्शक जस्तै बनेको छ ।
पहिले सो भन्सार कार्यालयमा मात्र सीमासुरक्षा प्रहरीको क्याम्प रहँदा लुकिछिपी आउने क्रमलाई रोक्न चुनौती रहे पनि अहिले एक किलोमिटरको दूरीमा सीमा सुरक्षा प्रहरीको क्याम्प स्थापना भएको छ ।
भारतको तिकुनियाँका हरिश कुरेसीले प्रहरीको आँखा छलेर आफूहरु कामका लागि नेपाल प्रवेश गरेको जानकारी दिए ।
खक्रौला बिओपीका प्रमुख पदमराज भट्टले भन्सारमा सामान आयात निर्यात भए पनि मानिसको आवतजावत भने नभएको दाबी गरे । उनले भारतीय नागरिक नेपाल प्रवेश गरेको सूचना आफूहरुलाई पनि आएको जनाउँदै लुकिछिपी प्रवेश गर्ने ती नाकामा आफ्नो कार्यक्षेत्र नपरेको बताए ।
अहिले भारतसँग जोडिएका सीमानाका खुकुलो हुँदै जाँदा र नागरिकको आवागमन बढ्दा भन्सार कार्यालयको राजश्व संकलनमा समेत गिरावट आएको छ ।
भन्सार कार्यालयमा अघिल्ला पाँच महीनाको तुलनामा पुस र माघ महीनामा राजस्वमा गिरावट आएको सत्ती भन्सार कार्यालय खक्रौलाका भन्सार प्रमुख विमलकुमार शाहले बताए ।
तपाईको प्रतिक्रिया