काठमाडौं, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै पनि मुलुकको पक्ष, विपक्षमा नउभिने स्पष्ट पारेका छन् । उनले दुई छिमेकी मुलुक भारत र चीनसँग नेपालले मित्रवत् सम्बन्ध चाहेको बताए ।
सोमबार भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने, ‘हामी दुवै मुलुकसँग मित्रवत् व्यवहार गर्दछौं । हाम्रा लागि दुवै मुलुक भरोसायोग्य मित्र हुन् । नेपाल सन्तुलित र तटस्थताको नीतिमा विश्वास गर्छ ।’
प्रधानमन्त्री ओलीले नेपाली भूमि एक अर्का मुलुकविरुद्ध प्रयोग गर्न नदिने स्पष्ट पारे । उनले भने, ‘हामी दुई मुलुकबीच असल सम्बन्ध स्थापित गर्न चाहन्छौं । तर हामी यी दुई मुलुकबीच एकसँग अर्काको कार्ड प्रयोग गर्दैनौं ।’
नेपाल र भारत भूगोलमा सानो ठूलो भए पनि सार्वभौम मुलुकका रूपमा समान हैसियत रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
भूगोलमा कुनै मुलुक सानो कुनै ठूलो हुन सक्छ तर देशका रूपमा ठूलो सानो हुन नसक्ने पनि प्रधानमन्त्री ओलीले स्पष्ट पारे । ‘सार्वभौमसत्ता सम्पन्न देश, दुई असल मित्र, एउटा क्षेत्रमा रहेका नेपाल–भारत समान देशहरू हुन् । यो पुरानो जमाना होइन, उपनिवेशिक समय होइन । यो पारस्परिक सम्बन्ध र सहयोगको समय हो,’उनले भने ।
प्रधानमन्त्री ओलीले दुई देशबीच देखिएको सीमा विवादबारे पनि स्पष्ट पारे । ओलीले भने, ‘तर नेपालको भूमि पनि समेटिएपछि हामीले यो राम्रो भएन भनेर भनेका हौं । हामीले वार्ताका लागि निरन्तर प्रयास गरेका थियौं । यो ठीक भएन भनेर डिप्लोमेटिक नोट पनि पठाएका थियौं । त्यसको कुनै सुनुवाइ भएन ।’ नेपाल–भारत असमझदारीमा चीनलाई जोड्न नहुने प्रधानमन्त्रीको भनाइ थियो । ‘त्यसकारण गलवानसँग हामीलाई नजोड्नुस्, उनले भने, ‘हामी कुनै मुलुकको पक्ष, विपक्षमा उभिँदैनौं ।’
तपाईको प्रतिक्रिया