काठमाडौं, ११ बैशाख । भारत सरकारको सहयोगमा पाल्पा जिल्लामा नवनिर्मित तीन वटा क्याम्पस भवनको निर्माण सम्पन्न भएको छ ।
भारत सरकारको नेरु. ९ करोड ८३ लाख आर्थिक सहयोगमा श्री रम्भा उच्च माध्यमिक विद्यालय, श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय र श्री नव आदर्श बहुमुखी क्याम्पसका नवनिर्मित भवनहरुको उद्घाटन भएको हो ।
भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल, पाल्पाका जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले भर्चुअल माध्यमद्वारा ती भवनहरुको उद्घाटन गरे ।
पाल्पाको ताहुँ गाउँ विकास समितिमा सन् १९५२ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएको श्री रम्भादेवी उच्च माध्यमिक विद्यालय सन् २००२ मा उच्च माध्यमिक तहमा स्तरोन्नत भएको हो ।
‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु. ३ करोड २१ लाख अनुदानमा निर्मित यस तीन तल्ले विद्यालय भवनमा १७ वटा कक्षाकोठासहितका उक्त क्याम्समा रहेको छ ।
यस्तै, तानसेन–५, बन्दीपोखरामा सन् १९६३ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय सन् २००८ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नत भएको हो । उक्त क्याम्पस भवन पनि ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु. ४ करोड १३ लाख अनुदानमा निर्मित भएको हो ।
यसैगरी, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त श्री नव आर्दश बहुमुखी क्याम्पस पाल्पा जिल्लाको देउरालीमा सन् २००६ मा स्थापना भएको हो । क्याम्पसले कृषिको प्राविधिक कोर्ष र व्यवस्थापन तथा शिक्षा विषयमा डिप्लोमा तहका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । भारत सरकारको नेरु. २ करोड ४८ लाख अनुदानमा ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत यस भवनको उद्घाटन भएको हो ।
भारतले नेपालमा ४४८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये पाल्पा जिल्लाका ७ वटा सहित प्रदेश ५ मा ४१ वटा परियोजनाहरु रहेका छन् । पाल्पा जिल्लाको एउटा परियोजना सहित प्रदेश ५ मा भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित नौवटा परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणहरुमा रहेका छन् । यी बाहेक पाल्पा जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थालाई भारतीय दूतावासले १२ वटा एम्बुलेन्स र २ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।
तपाईको प्रतिक्रिया