रुपन्देही, ५ बैशाख । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल–भारत दुवै देशमा लकडाउन भइरहँदा पनि स्थल नाकाबाट हुने आयात सहज रूपमा भइरहेको छ । यसबाट बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न अभाव नभएको व्यवसायीले बताएका छन् ।
देशको दोस्रो ठूलो भन्सार नाका बेलहिया हुँदै दिनहुँ दैनिक उपभोग्य वस्तुका साथै एलपी ग्यास, पेट्रोलियम पदार्थ, तयारी औषधि, औषधिका कच्चा पदार्थ, मेडिकल सामान, हरियो तरकारीजस्ता सामान नियमित रूपमा आइरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईका अनुसार अहिले दैनिक सरदर २५ वटा एलपी ग्यासका बुलेट यो नाका हुँदै भित्रिरहेका छन् ।
त्यसैगरी चामल, अन्य खाद्यान्न, मेडिकल सामान, ताजा तरकारी, औषधि, औद्योगिक कच्चा सामग्रीजस्ता गरी करिब एक सय मालवाहक गाडी दैनिक भित्रिरहेको उनले बताएका छन् ।
खाद्यान्नलगायत अत्यावश्यक वस्तुको मात्रै आयात हुँदा राजस्व भने दैनिक साढे दुई करोडको हाराहारीमा मात्रै सङ्कलन भएको भट्टराईले बताएका छन् ।
प्रमुख भन्सार अधिकृत भट्टराईले अहिले आयातमा कुनै समस्या नरहेको तथा भारतमा पनि लकडाउन भए पनि सामान निर्वाध रूपमा आइरहेको र सीमा नाकामा कुनै समस्या भए तत्कालै दुवै देशका जिल्लाका प्रमुख प्रशासक, सुरक्षा निकाय बसेर समाधान खोज्ने गरिएको बताएका छन् ।
तपाईको प्रतिक्रिया