भोलीबाट जसपा दोस्रो चरणको आन्दोलनमा

समाचार

1/8/2021

काठमाडौं, २४ पुस । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा)ले दोस्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरेको छ ।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरोधमा जसपा सडक संघर्षमा उत्रन लागेको हो । यसअघि पनि उसले विरोधका विभिन्न कार्यक्रम गरिसकेको छ । पार्टीले सरकारका कदमविरूद्ध चरणवद्ध कार्यक्रम ल्याएको जसपाले उल्लेख गरेको छ ।

जसपाले पुस २५ गतेदेखि माघ ७ गतेसम्म दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको हो । आन्दोलनका क्रममा भोली विराटनगर, धनगढी र भैरहवामा आमसभा गरिनेछ ।

यस्तै पुस २७ गते वीरगञ्ज, नेपालगञ्ज र जनकपुर तथा पुस २९ गते पोखरा, सुर्खेत र विर्तामोड र माघ ३ गते धरान, मलगंवा, सिरहा, कलैया, तौलिहवा र रौतहटमा आमसभाको आयोजना गरिएको छ ।

ती सबै कार्यक्रमका लागि केन्द्रबाट वक्ताहरु चयन गरिएको छ । यस्तै माघ ७ गते सबै जिल्लाका सदरमुकाम लगायत प्रमुख शहरहरुमा जनप्रदर्शन गर्ने कार्यक्रम तय पनि जसपाले तय गरेको छ ।

भोलि हुने कार्यक्रमका लागि संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य मृगेन्द्र सिंह यादव विराटनगर, कार्यकारिणी सदस्यहरु नवराज सुवेदी, गोविन्द चौधरी, दुर्गा सोव धनगढी र जसपा नेपाल अध्यक्ष महन्थ ठाकुर, कार्यकारिणी सदस्य महेन्द्रराय यादव र सर्वेन्द्रनाथ शुक्ला भैरहवा जाने भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ