मुकेश चौरसिया हत्या घटनाका मुख्य अभियुक्त पक्राउ

समाचार

11/22/2020

वीरगञ्ज, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्याका संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

चौरसियाको हत्यामा संलग्न मुख्य अभियुक्त पर्सा बिन्दवासिनी गाउँपालिका ३ ईटियाही बस्ने ३८ वर्षका अखिलेशप्रसाद चौरसिया भनिने अशेसरप्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात फरार रहँदै आएका चौरसियालाई प्रहरीले वीरगञ्ज २५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चौरसियालाइ प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । गएको कात्तिक ६ गते मुकेश चौरसिया बिन्दवासिनी गाउँपालिकाको प्रसौनीमा नेकपा बिन्दवासिनी गाउँपालिका कमिटिको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परि गम्भीर घाइते भएका थिए ।

टाउकोमा गम्भीर चोट लागेका उनको कात्तिक ७ गते उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको थियोे । घटनामा संलगन रहेको आरोपमा संविधानसभाका तत्कालीन सदस्य एवं नेकपा नेता राजकुमार गुप्तासहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

अखिलेशप्रसाद चौरसियासहित हालसम्म चारजनालाई मात्रै प्रहरीले पक्राउ गर्न सकेको छ । संविधान सभा सदस्य गुप्ता सहित ८ जना आरोपित अहिले पनि फरार छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ