रुपन्देही, १९ बैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका शंकर पोखरेलको शपथ ग्रहण रोक्न चार दलीय गठबन्धनका प्रदेश सांसदहरु धर्नामा बसेका छन् ।
नेकपा एमाले नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको विरोधमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा र राजमोसहितको गठबन्धले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिएको छ ।
लुम्बिनी प्रदेश सभाका चार विपक्षी दलले आइतबार दिउँसो एक बजे बहुमत प्रदेशसभा सदस्य आफूमा रहेको मौखिक जानकारी गराउँदै ४ बजेसम्म लिखित हस्ताक्षर लिएर आउने बताएका थिए ।
मुख्यमन्त्रीको राजीनामापछि एमाले संसदीय दलका नेता पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम बहुमतको एकल सरकार बनाउन बहुमत सदस्यको हस्ताक्षरसहितको निवेदन पेस गरेका थिए । सोही निवेदनका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका थिए ।
कांग्रेस माओवादी गठबन्धनले भने एमालेमा ४१ सदस्य नरहेकाले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन हुन नसक्ने भएकाले मुख्यमन्त्रीको नियुक्ति संविधान विपरीत भएको दाबी गरेको छ ।
तपाईको प्रतिक्रिया