जनकपुरधाम, २० असार । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट यस क्षेत्रका दुई जना स्रष्टालाई सम्मान गरेका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आइतबार जनकपुरमा आयोजना गरेको समर्पण समारोहमा प्रमुख अतिथिको आसनबाट मुख्यमन्त्री राउतले वरिष्ठ अभिनेता सुनिल कुमार मिश्र र वरिष्ठ गायक वंशीधर मण्डललाई सम्मान गरेका हुन् ।
एक लाख नगद तथा प्रमाण पत्र रहेको प्रज्ञा पुरस्कारबाट देशभरि पुरस्कृत भएका ६ जना श्रष्ठा मध्ये मण्डल र मिश्र प्रदेश २ का बासिन्दा हुन् ।
उक्त अवसरमा मैथिली रंगमंचका प्रथम महिला कलाकार विद्या राणा चौधरीलाई समेत ११ हजार नगदसहित सम्मान गरिएको थियो ।
उक्त समारोहमा मुख्यमन्त्री राउतले समाजका ऐनाका रुपमा रहेका स्रष्टाहरुलाई सम्मान गर्न प्रदेश सरकारले चाँडै प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागेको जानकारी समेत गराएका छन् ।
प्राज्ञपरिषद सदस्य धिरेन्द्र प्रेमर्शिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया