मुख्यमन्त्री राउतद्वारा प्रदेश हरित अभियानको शुभारम्भ, प्रदेशमा साढे १४ लाख विरुवा रोपिँदै

समाचार

6/28/2021

जनकपुरधाम, १४ असार । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश हरित अभियान २०७८ को एक कार्यक्रमबीच शुभारम्भ गरेका छन् ।

डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका वडा नं.४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रमबाट मुख्यमन्त्री राउतले बर पिपलको रुख रोप्दै अभियानको शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरे लगतै प्रदेशको आठ वटै जिल्लामा एक साथ वृक्षारोपणको शुरुवात भएको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियानअन्तर्गत आठवटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ विरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कडेलले जानकारी दिएका छन् ।

अभियानको शुराम्भका लागि आठवटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुगेका थिए ।

अभियानको शुभारम्भ सप्तरीमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, सिरहामा अर्थमन्त्री विजय कुमार यादव, महोत्तरीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, आन्तरिक मामिला तथा संचार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, महिला बालबालिका तथा खेलकुदमन्त्री विरेन्द्र कुमार सिंह, रौतहटमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव, पर्सामा उर्जा तथा खानेपानीमन्त्री ओम प्रकाश शर्माले गरेका थिए ।

धनुषाको पुष्पलपुरमा आयोजित कार्यक्रममा मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, वन सचिव डा. कडेल सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ